१४ माघ २०७८, शुक्रबार
  • मुस्कान श्रेष्ठ

वीरगन्ज । मानव सेवा आश्रम वीरगन्ज शाखाले एक जनालाई पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का जागेश्वर ठाकुरको करिब ८ महिनाअघि उद्धार गरिएकाे थियाे भने बिहीबार पारिवारिक पुनर्मिलन गराइएको हो ।

विगत ४ वर्षदेखि साङ्लोले बाँधेर राखिएको अवस्थामा ठाकुर फेला परेका थिए । उनलाई उद्धार गरी आश्रममा ल्याएर औषधी-उपचार समेत गरी स्वस्थ पारिएकाे थियाे । स्वस्थ भएपछि पारिवारिक पुनर्मिलन गराइएको मानवसेवा आश्रम वीरगन्जकी संयोजक सानु मानवसेवाले जानकारी दिइन् ।

सुरुवाती दिनहरूमा ठाकुरलाई सम्हाल्न गाह्रो भएकाे थियाे । तर पनि उपचार र औषधी सेवनपश्चात उनको अवस्था सामान्य बन्दै गएको सानुले बताइन् ।

ठाकुर कुनैबेला चर्चित काठ मिस्त्री थिए । उनको कलाले सबैलाई अचम्म नै पार्ने गर्थ्याे । पछिल्लो समय भने उनको मानसिक सन्तुलन बिग्रेपछि समाजमा सबैसँग अभद्र व्यवहार गर्ने, पारिवारका सदस्यलाई पिट्ने, ढोका बन्द गरेर बस्ने, यहाँ सम्मकि घरबाट भाग्ने पनि गरेको उनकी श्रीमती सुदामा देवीले बताइन् ।

यी सबै कारणले आफ्नै श्रीमानलाई बाँधेर राख्नुपरेको उनले दुखेसो पोखिन् । तर अहिले आफ्नो श्रीमानलाई स्वस्थ भएको देख्न पाउँदा उनको आँखामा आँसु थामिएनन् ।

जुन काम आफूहरुले गर्न सकिएन, त्यो काम मानवसेवा आश्रमले गरेकाेमा आश्रमका सम्पूर्ण परिवारलाई उनले धन्यवाद समेत दिइन् ।

मानवसेवा आश्रम वीरगन्ज शाखाले यस्तैगरी धेरैको उद्धार गरेर पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । हाल उक्त आश्रमले ५० जनाभन्दा बढीलाई सेवा प्रदान गरिरहेको छ । यो जाडो मौसममा मात्रै २ महिला, १ बालिका र ४ जना पुरुष गरी ७ जनाको उद्धार गरेर आश्रममा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV