१३ माघ २०७८, बिहीबार
  • राजा पुनियानी

१.
नदीले कोरेको छ
सभ्यताको इतिहासको धर्काचित्र
नदीले कोरेको छ
देश-देशको सिमाना
नदीले कोरेको छ
माटोको लामो सिँउदो
नदीले कोरेको छ
नदीले नदी हुनुको कथाचित्र
नदी
कोठाबाहिर निस्केको आवारा चित्रकार हो ।
२.
माटोसँगै बाँच्छ नदी
नदी र माटो
जहाँ मिल्छन्
त्यहाँ कोरिन थाल्छ
किनार
किनार
नदीको प्रेमिकाको तस्बिर हो ।
३.
मान्छेको हातमा
न्युक्लियर बम
केमिकल बम
हुँदा पनि यति हानि भएको छैन
जतिको हानि
मान्छेको हातमा
नदी पर्दा भएको छ ।
४.
मान्छेको पाइला पर्छ
र उसको आमा कोखमा खड़ेरी लाग्छ
मान्छेको पाइला पर्छ
र उसको शिरको हिउँमुकुट पग्लिन्छ
मान्छेको पाइला पर्छ
र उसको शरीरमा फोहोरको खटिरा फैलिन्छ
मान्छेको पाइला पर्छ
र उसको घरबाटो सर्छ
मान्छेको पाइला पर्छ
र उसको अनुहारमा चोट पर्छ
मान्छेलाई उसले माया गर्छ
मान्छेले उसको मायाको फाइदा उठाईबस्छ
उ नदी हो
नदीले
मेट्दै लाँदैछ
मान्छेको पाइला ।
***

अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङ्खला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृङ्खलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ राख्ने गरेका छाैँ ।

अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV