१२ माघ २०७८, बुधबार

हेटौंडा । राष्ट्रियसभाको सदस्यका लागि जारी मतदानमा एक प्रदेश सभा सदस्यले आफैले मतदान गरेको फोटो खिचेपछि वाग्मती प्रदेशमा लफडा भएको छ । नेकपा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले आफूले मतदान गरेको फोटो खिचेपछि केहीबेर भनाभनको अवस्था उत्पन्न भएको हो ।

प्रदेश सांसद गोलेले फोटो खिचेपछि गोप्य मतदानको फोटो नखिच्न निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आग्रह गरेका थिए । त्यसपछि मतदानका क्रममै रहेका माओवादीका अर्का सांसद राजकाजी महर्जन निर्वाचन अधिकृत श्रेष्ठसँग भनाभन गर्न पुगेका हुन् ।

सांसदलाई कानुन सिकाउने को हो भन्दै राजकाजीले निर्वाचन अधिकृत श्रेष्ठसँग जाइलागे । केहीबेरको लफडापछि अहिले वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान जारी छ ।

राष्ट्रियसभा सदस्यअन्तर्गत् वाग्मती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय सभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन ।

विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV