११ माघ २०७८, मंगलवार

काठमाडौँ । निजामती कर्मचारीमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि कर्मचारीहरूले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिएका छन् । अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न सकिने सबै सेवा अनलाइन प्रणालीबाटै प्रवाह गर्नुपर्ने कर्मचारीहरूले बताएका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अनुसार तीनै तहका गरी करिब डेढ लाख कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारीलाई कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ । उक्त ट्रेड युनियनका महासचिव तेजकुमार केसीले अहिले ३० प्रतिशत कर्मचारीलाई कोभिड भएको र यही गतिमा सङ्क्रमण तीव्र बन्दै गए अबको एक सातामा शतप्रतिशत कर्मचारीमा कोरोना सङ्क्रमण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यकबाहेकका काम अनलाइन माध्यमबाटै ‘वर्क फ्रम होम’ गर्नुपर्छ, व्यक्तिको स्वास्थ्यभन्दा काम ठूलो होइन ।”

उहाँका अनुसार कार्यालयमा सुब्बादेखि सचिवसम्मले एउटै फाइलमा काम गर्नुपर्ने हुनसक्छ । त्यसैले कम्तीमा माघभर सबै कर्मचारीले अनलाइनको माध्यबाट घरबाटै काम गर्ने वातावरण सरकारले मिलाउनुपर्छ । अहिले बढी भीडभाड हुने सबैजसो जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत, राहदानी विभागलगायतका कार्यालयमा भने आलोपालो प्रणालीबाट सेवा प्रवाह भइरहेका छन् । सरकारले गत वर्ष वैशाख र जेठमा कोरोना सङ्क्रमण दर उच्च तहमा पुगेपछि घरबाटै अनलाइन सेवा प्रवाह गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV