८ माघ २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको भावना र मर्म अनुसार सबै तहको निर्वाचन हुनुपर्ने बताएका छन् । डा.मिता सिंहद्वारा लिखित गणेशमान सिंहको संघर्ष बिषय पुस्तक विमोचनपछि आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले संविधानको व्यवस्था अनुसार नै स्थानीय तह लगाएत अन्य तहको निर्वाचन हुनुपर्ने बताएका हुन् ।

उनले निर्वाचनलाई पर ढकेलेर स्थानीय तहलाई पदाधिकारीविहीन बनाउन नहुने धारणा पनि राखे । फरक प्रसंगमा नेता सिंहले महाधिवेशनपछिको परिणामलाई लिएर पार्टीभित्रका नेताहरुलाई लखेट्ने काम बन्द हुनुपर्ने धारणा राखे ।

उनले आगामी दिनमा पार्टीलाई शसक्त बनाउनका लागि पार्टी महाधिवेशनको निर्णयलाई स्वीकार गर्दै एकतावद्ध रुपमा अघि बढ्नुको विकल्प नभएको बताए । नेता सिंहले प्रधानमन्त्रीले आफूलाई सरकारमा सहभागी गराउन कुनै प्रस्ताव नआएको भन्दै हल्लाका पछि नलाग्न सुझाव दिए ।

पार्टीलाई विधिसम्मत लैजान आफुले महाधिवेशनमा सभापति देउवालाई समर्थन गरेको र यसलाई बार्गेनिङ्को रुपमा नबुझ्न पनि आग्रह गरे । त्यसअघि पुस्तक विमोचनमा नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेका भूमिकाको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV