८ माघ २०७८, शनिबार
  • आशीष भण्डारी

ए साँझ !
तँ नै भनिदे न
तँ किन एति निष्ठुर ?

ढल्किएको दिनसँग
रुमल्लिएका सपनाहरुसँग
अनि टिल्पिल टिल्पिल यी आँखाहरुसँग
किन यति धेरै आक्रोश ?
आखिर तँ पनि त रातको काखमा शरण पर्नु नै छ ।

बिरक्तिएका खुसीहरू
सम्हालिनसक्नु वेदनाहरु
रित्तिन लागेका बोतलहरु
अनि सक्किन लागेका धुवाँहरू
आखिर तेरै प्रतिक्षामा त हुन्छन्,
तँ सँगै मितेरी लगाउन त खोज्छन्
तर पनि तँ बेमतलबी नै भैदिन्छस् है
कति सजिलै !

विरहका गानाहरु तँलाई नै पर्खिएर बसेका छन्
थामिनसक्नु मुसलधारे तेरै काखमा रोइरहेछ
तेरै बाटो कुर्दाकुर्दै दिनभरको थकान सकिन्छ
अनि छिचोलिन्छ तेरो घमण्ड
उदाएको जुनले अस्ताएको सुर्य निलेपछि ।

तर पनि भोलिको प्रतिक्षा त छँदैछ ।

तेरो आगमनसँगै चिर्बिर चरीहरु घर फर्किन्छन्
अघाएका गोरु गोठको खोजीमा फर्किन्छन्
सीता भाउजू दिनभरको कमाई अगेनामा चलाउन थाल्छिन्
अनि नेपथ्यमा सुनिन्छ झ्याउँकिरिको विरह ।

तर म..
ती बेसरम आईरहने यादहरुको भुमरीलाई
मनको कुनै कुनामा थन्क्याएर
कृत्रिम हाँसो हाँस्न बाध्य छु ।

ए साँझ !
तँसंग अलिकति मात्र पनि दया बाँकी छ भने
मेरो वियोग तैँले कतैबाट सुनिरहेको छस् भने
कृपया,
सुर्यास्तसँगै रातको आगमन गराइदे न है !

प्रतिक्रिया दिनुहोस्
LIVE TV