
- हरिशंकर शर्मा
वीरगन्ज । हरिखेता बहुमुखी क्याम्पस वीरगन्जका प्रमुख डा. भगवान प्रसाद यादवविरुद्ध नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिले आन्दोलनको घोषणा गरेको छ । हरिखेतान क्याम्पसमा प्रमुख डा. भगवान प्रसाद यादवले निजीकरण गरी आफ्नो हैकमवादी तरिकाले क्याम्पस चलाइरहेको भन्दै नेवि संघले ज्ञापन पत्र मार्फत ७ बुँदे माग सहित ३ दिने अल्टिमेटम दिँदा पनि क्याम्पस प्रमुख यादवले कुनै वास्ता नगरेको कारण आन्दोलनको घोषणा गरिएको सभापति मनोज कुमार साहले बताए ।
नेविसंघ ठाकुर राम एकाई समितिका सभापति मनोज कुमार साहले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै माघ ७ गतेदेखि १२ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनका अनुसार माघ ७ गते शुक्रबार हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिने, माघ ९ गते आइतवार संचालक समितिका सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, माघ १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, माघ ११ गते घण्टाघरमा हस्ताक्षर अभियान संचालन गर्ने जनाएको छ ।
यस्तै, माघ १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री, टियुका डियन र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक म्यासेज पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघका एकाई सभापति साहले पत्रकार सम्मेलनमा जानकारी गराए । विज्ञप्ति मार्फत क्याम्पस प्रमुख डा. यादवले अभिभावक र कानुनलाई आफ्नो गोजीको पेवा बनाएर मनोमानी ढंगले क्याम्पस संचालन गरिरहेको नेविसंघको आरोप छ ।
नेवि संघले ४ दिन अघि हरि खेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकोले सामुदायिकको विधि विधान अनुरूप संचालन हुने गरि सरकारी क्याम्पस झै क्याम्पस प्रमुखको कार्यकाल तीन/चार बर्षमा परिर्वतन हुनुपर्ने, सरकारी क्याम्पसको मान्यता अनुसार प्रत्येक संकायको प्रत्येक वर्षमा नियमानुसार विद्यार्थीको भर्ना संख्या अनुसार २० प्रतिशतलाई अनिवार्य निशुल्क छात्रवृत्ति तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, वीरगंज विश्व विद्यालय स्थापनाको नाममा संकलित रकमको आजसम्मको हरहिसाब र विश्व विद्यालयको कार्यप्रगति सार्वजनिक गर्नुपर्ने माँग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।
तर ति ज्ञापन पत्रको क्याम्पस प्रमुख डा. यादवले कुनै वास्ता नगरेपछि बाध्य भएर आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुपरेको सभापति साहको भनाई छ । आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै क्याम्पस प्रमुख र क्याम्पस प्रशासनको तर्फबाट हाम्रो माग प्रति कुनै चासो नभएकोले क्याम्पसमा निश्चित रुपले कहि कतै अभिभावक र कानुनलाई आफ्नो गोजी ठानेर मन लाग्दो किसिमको क्याम्पस संचालन गर्दै आएको आरोप लगाए । क्याम्पस प्रमुख यादवको गैर जिम्मेवार पूर्ण रवैयाको भण्डाफोर गर्न हरिखेतान क्याम्पसलाई शुसान र सहि बाटोमा ल्याउन एक भ्रष्ट र हैकमवादी चित्रण रहेको प्रमुख विरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिएको सभापति साहले बताए ।
यस्तै, संघले क्यु.ए.ए. क्वालिफाईड क्याम्पस भएकोमा टियुको युजिसि ग्रान्टको रकम कुन ठाउँमा र कसरी खर्च हुने गरेको छ त्यो पनि सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बर्षाै बर्षाैदेखि कार्यरत हुँदा निजहरूको सञ्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धित कार्यालय किन जम्मा नगरि निजहरु प्राप्त गर्ने सुबिधाहरुबाट किन बञ्चित गरेको त्यो पनि सार्वजनिक गर्नुपर्ने लगायतको नेवि संघको माग रहेको छ ।