५ माघ २०७८, बुधबार
  • श्यामशितल परियार,

लमजुङ । लमजुङमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । केही दिनयता जिल्लामा कोरोना संक्रमतिहरुको संख्या बढिरहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । गएको १० दिनदेखि हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ८६ जना पुगेको छ ।

जिल्लामा तुलनात्मक रुपमा वयस्क उमेर समूहका संक्रमितको संख्या धेरै छ । तुलनात्मक रुपमा जिल्लाको जनघनत्व धेरै रहेका बजारी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा समेत कोरोना संक्रमण बढ्दै गएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि जिल्लामा तयारी थालिएको छ । जिल्लाको प्रवेशद्धार सुन्दरबजार नगरपालिका–७ स्थित पाउँदीमा हेल्थ डेस्क स्थापना गरी ‘मास्क अभियान’ सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय, लमजुङ र स्वास्थ्य शाखा सुन्दरबजार नगरपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको हो । स्वास्थ्यकर्मीका साथै सुरक्षाकर्मीको टोली खटिएका हेल्थ डेस्कबाट जिल्ला आउने जाने सवारी साधनमा सवार यात्रु, पैदलयात्रुहरुलाई स्वास्थ्य सचेतना जगाउनुका साथै निःशुल्क मास्क वितरण गरिएको छ ।

आवश्यकताअनुसार अन्य ठाउँमा पनि हेल्थ डेस्क स्थापना गरिने प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए । दिनहुँ बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाहरुले पनि अघि सरेका छन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्बन्धित निकायहरुको समन्वयमा अघि बढिएको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।

संक्रमण रोकथामका लागि लमजुङ प्रशासनले जारी गरेका आदेशको पालना गर्न, गराउन र सचेतना जगाउन आफूहरु जुटिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङ प्रमुख एवं प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले अनावश्यक भीडभाड, भेला नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV