४ माघ २०७८, मंगलवार

सुनसरी । चर्चित भोजपुरी कलाकार खेशारीलाल यादव बर्जु महोत्सवमा नगएपछि स्थानीय दर्शकले सजाइएको महोत्सव कार्यक्रमस्थलमा आगजानी र तोडफोड गरेका छन् ।

सुनसरीको बर्जु गाउँपालिकामा महोत्सवको अन्तिम दिन कलाकार यादव आउने पूर्वनिर्धारित कार्यक्रम रद्ध भएसँगै आक्रोशित स्थानीयले महोत्सव स्थलमा आगजनी र तोडफोड गरेका छन्।

कलाकार यादवको प्रस्तुती हेर्न बिहानैदेखि टिकट काटेर दर्शकहरु पर्खेर बसेका थिए । उनीहरुले ३०० र ५०० रुपैयाँका दरले टिकट काटेका थिए । तर, कार्यक्रमको अन्तमा कलाकार यादव कार्यक्रममा अनुपस्थित हुने भनिए पछि आगजानी र तोडफोट गरिएको छ ।

स्थानीय दर्शकले भारतीय नम्बर प्लेटका ४ वटा स्कार्पियो र मोटरसाइकमा आगजनी गरेका छन् भने स्टेज र कुर्सीहरू तोडफोड गरिएको छ ।

कलाकार यादवलाई भने प्रहरीले विराटनगरमा रोकेको बताइएको छ । उनलाई किन कार्यक्रममा आउन दिइएन भन्नेबारे विवरण प्राप्त भएको छैन । सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेल मैदानमा पुस २४ गतेदेखि महोत्सव जारी रहेको थियो ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको छ । र, त्यहीँ आदेशलाई मध्यनजर गर्दै प्रहरीले कलाकार यादवलाई महोत्वसमा जान रोक लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV