४ माघ २०७८, मंगलवार
  • कमलराज केसी

एकजोडी युवाको कथा यो ।
कथाका मूल पात्रहरू– झुमा र रमेश ।

छिमेकी गाउँबाट शुरू भएको तिनको बालापन संयोगले स्कूले जीवनमा सहपाठीका रूपमा बदलियो ।

दुवै अत्यन्तै मन मिल्ने साथी थिए । मन मिलेपछि साँच्चै कुनै पनि प्रकारका बाधाव्यवधानले असर नगर्दो रहेछ । विद्यालयस्तरको पढाइ समाप्त भएपछि पनि उच्च शिक्षा–अध्ययनमा समेत उनीहरू छुट्टिएनन्, जिल्लास्थित सदरमुकाममा रहेको सामुदायिक क्याम्पसमा स्नातकतहका विद्यार्थी भए ।

झुमाको खासै ठूलो सपना थिएन । झुमाले सोचेकी थिइन्, ‘बी.एड. पास गरेर सरकारी विद्यालयको शिक्षिका बन्छु ।’ रमेशले पनि कुनै त्यस्तो ठूलो सपना देखेको थिएन । तथापि, ‘समाज रूपान्तरणको लागि भए पनि राजनीति गर्छु’ भन्ने सोच राखेको थियो । पढाइमा दुवै राम्रा थिए ।

स्नातकतह सकिन अब एक वर्ष मात्र बाँकी थियो । तेस्रो सेमिष्टर चल्दै थियो ।

‘यो सेमिष्टरको जाँच सकिएलगत्तै बिहे गर्नुपर्छ अब ।’ रमेशको यो प्रस्तावलाई झुमाले सहर्ष स्वीकारेकी थिइन् ।

सामान्यतः गाउँमा डेटिङ जाने चलन हुँदैन शहरमा जस्तो, तर पनि उनीहरूको भेट दिनहूँजसो भइरहन्थ्यो, प्रायः क्याम्पसमा त कहिलेकाहीँ त्यहाँ लाग्ने मेला र जात्राहरूमा; जहाँ उनीहरू समय–परिस्थिति हेरेर प्रेम साटासाट गर्न भ्याउँथे ।

००
रमेश सानै उमेरदेखि अलिक फरक स्वभावको केटा थियो । उसको स्वभावमा मूलतः क्रान्तिकारिता झल्कने गथ्र्यो । त्यसैले पनि स्ववियुको क्याम्पस इकाई कमिटीमा रहेर काम पनि गर्ने गरेको थियो । यसका अलावा, विभिन्न सामाजिक क्रियाकलापहरूमा उसको विशेष रुचि र सहभागिता हुने गर्दथ्यो । रमेशको यही चरित्र झुमालाई आकर्षित गर्ने मूल कारण थियो भने आफूप्रति झुमाको आसक्ति बुझेर रमेश पनि झुमाप्रति झुम्मिएको थियो ।

झुमाको नाम रमेशसँग जोडेर उनका सहपाठीहरूले बारम्बार नजिस्क्याउने होइनन् । तर साँच्चो र चोखो प्रेममा केको भय ? झुमा खुलेर भन्ने गर्थी– ‘मेरोजस्तो ब्वाइफ्रेण्ड पाउन त तिमीहरूको भाग्यमा पनि त हुनुपर्यो नि !’

झुमाको घर जङ्गलको बीच भागमा थियो । घरको दायाँ–बायाँ दुईवटा स–साना खोलाहरू । र, घरदेखि झन्डै चालीस मिटरजति टाढा खोलाकै आडमा एउटा अर्को सानो घर थियो । झुमा जब सानै थिइन्, त्यतिखेर त्यो घर देखेर सोच्थिन्– यो किन र केका लागि बनाएका होलान् ? त्यसका बारेमा उनी धेरै पछिसम्म पनि अनभिज्ञ नै थिइन्, तर जब किशोर उमेरमा फड्को मारिन्, अनि मात्रै त्यो सानो गोठजस्तो घरको बारेमा थाहा पाइन् । वास्तवमा त्यो त कुनै घर नभएर ‘छाउगोठ’ पो रहेछ । हुन त उनले देख्ने गरेकी थिइन्, आमा र काकीहरू त्यहाँ कहिलेकाहीँ बस्न जान्थे र केही दिनपछि फेरि घर नै फर्कन्थे । उनी मनमनै सोच्ने गर्थिन्र्थी, किन यिनीहरू कहिलेकाहीँ त्यो गोठमा जान्छन् होला ? यसको जवाफ थाहा पाउन उनलाई निकै वर्ष कुर्नुपर्यो, एक दिन जब उनी आफैँ पहिलो पटक छाउ (महिनावारी) भएकी थिइन् । त्यस दिनपश्चात् भने छाउगोठको रहस्य थाहा पाइन् उनले ।

पहिलो छाउको बेला, निर्जन जङ्गलको बीचमा खोलाछेउको त्यो गोठको अत्यासलाग्दा ती नौ दिन, उफ् ! ! त्यो समय काट्न उनलाई नब्बे दिनजस्तै लागेको थियो । साँच्चै भन्ने हो भने, तिनै दिनबाट शुरू भएको थियो उनमा आफ्नो जीवन र आफू बाँचेको समाजप्रतिको वितृष्णा । फेरि, यसको क्रम त्यत्तिकै समाप्त भएन, त्यसपछि हरेक महिना जब उनी त्यो गोठमा बास बस्न जान्थिन् उनलाई लाग्थ्यो– यो गोठमा यसरी पशुतुल्य भएर बस्नुभन्दा त बरु मर्नु वेश ।

हरेक साँझ भय र त्रास बोकेर उनी छाउगोठभित्र प्रवेश गर्थिन् र बिहान अनिदो आँखाहरूसँगै बिउँझिन्थिन् । बिउँझिनु के थियो, टाढाको खोलामा नुहाउन जानुपथ्र्यो, जान्थिन् । कति चोटि त रिँगटा लागेर खोलामै लडेर बेहोश भएकी थिइन् उनी ।

समयको प्रवाहलाई कसले रोक्न सक्थ्यो ? समयको क्रमसँगै झुमाको उमेर पनि बढ्दै गयो र विद्यालयस्तरको पढाइ सकियो । यो, त्यो बेलाको कुरो थियो, जब देशमा निकै ठूलो राजनीतिक उतारचढावहरू आइरहेका थिए । जताततै महिला अधिकारका नाराहरू गुञ्जिन थालेका थिए । त्यति मात्रै भएन, विभिन्न एन.जी.ओ.÷आई.एन.जी.ओ.हरू गाउँ पसे । महिला सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन हुन थाले । यसैबीच उनको गाउँमा ‘छाउगोठ भत्काऊ’ अभियान पनि चल्न लाग्यो । यस्ता कार्यक्रमहरूमा झुमाको सक्रिय सहभागिता रहन थाल्यो ।

एउटा अर्को सामाजिक विकृतिमाथि पनि उनको ठूलो रोष थियो । उनले सुनेकी मात्रै होइन देख्ने नै गरेकी थिइन्– दिनभरि महिला अधिकारको पक्षमा जो महाशयहरूले वकालत गर्थे तिनले नै रातभरि श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । यस्ता घटनाहरूबाट पनि उनी भित्रभित्रै विक्षिप्त थिइन् । त्यसैले पनि यो पितृसत्तात्मक समाजको जग हल्लाउने मात्रै होइन जगैदेखि उखेल्नुपर्छ भन्ने भावनाले उनको मनमा जरा गाडेको थियो । यसको पुष्टि उनलाई छाउ हुँदा उनले भन्ने गरेको– ‘म घरमै बस्छु, गोठमा बस्दिनँ’बाट पनि मिल्ने गथ्र्यो । यसो भन्दै परिवारमा विद्रोहको राँको सल्काउन खोज्थिन् । तर व्यर्थ ! पितृसत्तात्मक समाजकी एउटी निरीह पात्र झुमा, जसका बुवा स्वयम् मष्टाका पुजारी थिए । उनीजस्ता रूढिवादी व्यक्तिका सामु उनको के जोर चल्थ्यो ! छाउ भएकी एउटी आइमाईलाई उनले घरमा बसाल्नु भनेको भयङ्कर अपराध गर्नु थियो र त्यसो गर्नु भनेको अनिष्टको सङ्केत पनि थियो । यस खालको परम्परावादी सोचका उनको बाबु घैँटोमा घाम नलागेरै अस्ताए ।

गाउँमा एउटा जुहारी नै जस्तो चल्थ्यो, बिहान सरकारी मान्छेहरू र केही सामाजिक अभियन्ताहरू आउँथे र छाउगोठ भत्काएर जान्थे । र फेरि, भत्काइएका ती छाउगोठहरूको पुननिर्माणमा दिउँसो–साँझ गाउँलेहरू जुटिहाल्थे ।

अर्कातर्फ, उनै रमेश, झुमाको रमेश ! ऊ मात्रै एउटा यस्तो व्यक्ति थियो जसले परिवारमा आफ्ना बा÷बाजेहरूसँग विद्रोह गरेर आफैँ नै छाउगोठ भत्काएर आफ्नो घरका स्वास्नीमान्छेहरू छाउ हुँदा घरमै राख्ने गरेको थियो । भन्ने नै हो भने, यो सन्दर्भमा रमेश र उसको परिवार त्यो बस्ती मात्रै होइन पूरै त्यो क्षेत्रको नमूना नै थियो । तर त्यहाँका ठालु–भलाद्मी र धर्मभिरु पाखण्डीहरूलाई उसको यो चरित्र पचेको थिएन । ऊ धेरैको आँखाको कसिङ्गर बनेको थियो ।

‘हेर न रमेश ! कस्तो कहालीलाग्दो हुन्छ छाउगोठको बसाइ !’ रमेशको साहस र विद्रोह देखेर नै झुमा पनि बेला–बेला आफूले छाउगोठमा बिताउँदा भोग्नुपर्ने त्रस्त मानसिक वह रमेशसामु पोखिरहन्थिन् ।

रमेश ढाडस दिँदै भन्ने गथ्र्यो– ‘धत् काली ! तिमीजस्तीे शिक्षित केटीले पनि छाउगोठमा बस्ने हो त ? यसको विरुद्ध विद्रोह गर्नुपर्छ, क्रान्ति गर्नुपर्छ, सिङ्गो रूढिग्रस्त समाजको विरुद्ध मसाल बोक्नुपर्छ ।’

झुमा भन्थी– ‘तर रमेश…, म एक्लैबाट कसरी सम्भव हुन्छ ? जब कि हाम्रो समाजमा पढेलेखेका र जान्ने सुन्ने हामी नै हौँ भन्ने महिलाहरू त महिनावारी हुँदा लुरुलुरु छाउगोठ धाउँछन् । तैपनि मैले तिनलाई नभनेको कहाँ हो र ! उल्टो, फलानाकी छोरी क्याम्पस जान के थाली आफ्नो पुर्खादेखि चली आएको रीतिथीति नै मास्न खोज्दै छे भन्छन् । अब तिमी आफैँ भन त, कसरी उँभो लाग्छ हाम्रो समाज ?’

जब बहस कुनै निष्कर्षमा पुग्न सक्दैनथ्यो, रमेश झुमालाई जिस्क्याउँदै भन्ने गथ्र्यो– ‘अब धेरै पीर नगर, हामी छिट्टै बिहे गरौँला अनि मेरो घरमा गएपछि टन्टै साफ ! छाउ हुँदा होस् कि नहुँदा होस्, मेरो अँगालोमा तिमी ।’ र, जसै झुमाको गालामा चिमोटिदिन्थ्यो रमेश, त्यसै–त्यसै झुमा मदहोश बन्थिन् र रमेशको दुलही भएर उनको घर भित्रिएको कल्पना गर्थिन् । मनमनै भन्थिन् उनी– ‘हे भगवान्, मलाई यो छाउगोठको त्रासदीबाट चाँडै मुक्ति देऊ !’

त्यसो त झुमालाई लाग्थ्यो पनि, उनी एक्लैले समाजमा व्याप्त रूढि बढार्न गाह्रो छ, तर रमेशको साथ पाएँ भने असम्भव छैन ।

बर्सात्को कुनै एक दिन, रमेशसँग पानीघट्टमा झुमाको भेट भयो । त्यो दिन झुमा र रमेशबीच लामो कुराकानी पनि भयो । कुराकानीकै क्रममा रमेशले प्रस्ताव राख्यो– ‘झुमा, अब हामी बिहे गरौँ !’

साँच्चै, हुन पनि आफूहरूबीचको प्रेम–सम्बन्ध कति दिन कायम राख्नु ! झुमाले सहर्ष स्वीकारिन् रमेशको प्रस्ताव । दुवैको सहमतिमा आउने माघमा भागी–विवाह गर्ने निर्णय गरे उनीहरूले । भागी–बिहे गर्ने भन्नुको एउटै कारण थियो– यो समाज । अर्थात्, झुमा बाहुनको छोरी थिइन् र रमेश मगरको छोरा । यस्तोमा मागी–बिहेको त के सम्भावना !

दिनभरिको रमाइलो र मीठो भलाकुसारीपछि साँझ ढल्नुअघि झुमा र रमेश आ–आफ्नो बाटो लागे । छुट्दा, त्यो साँझ उनीहरू आइतबारको दिन क्याम्पसमा भेट्ने बाचा गर्दै छुटेका थिए ।

सधैँझैँ झुमा त्यो दिन पनि बिहान ५ बजे उठेर आमाले पकाएका चिया र रोटी खाइन् र कलेजब्याग भिरेर उकालो लागिन् । बिहानको पहिलो क्लास सवा ६ मा शुरू हुन्थ्यो । घरबाट क्याम्पस पुगनपुग आधा घन्टाजति लाग्थ्यो, तर रमेशलाई भने झन्डै एक घन्टाजति नै लाग्थ्यो, किनकि रमेशको घर झुमाको घरभन्दा आधा घन्टाजति समयको दूरीमा थियो । क्याम्पस आउँदा रमेशको बाटो झुमाकै घरछेउ पर्दथ्यो । त्यसैले प्रायः रमेश त्यहाँ आइपुगेपछि मात्रै उनीहरू एकसाथ गफ्फिँदै क्याम्पस जाने गर्दथे । तर… त्यो दिन रमेश त्यहाँ आइपुगेनन् । झुमा एक्लै हिँड्न लागिन् र बाटोमा पछाडि रमेश आउँदै छन् कि भनेर पाइलैपिच्छे फर्की–फर्की हेर्दै हिँडिरहिन् । तर कलेज पुगुञ्जेलसम्म पनि रमेश आएन । भारी मन र गरुङ्गो पाइला लिएर झुमा कक्षाभित्र पसिन् । सोचिन्, शायद क्लासभित्रै पो आइसकेको छकि रमेश ! । कमलसरले क्लास शुरू गरिसकेका रहेछन् । झुमा झसङ्ग भएर झस्किन् । साढे ६ बजिसकेको रहेछ ।

कक्षाभित्र पस्नासाथै उसले कोठाभित्र चारैतिर नजर डुलाइन्, तर रमेशलाई देखिनन् । मन नगरी–नगरी किताब खोलिन्, तर ध्यान भने रमेशकै कल्पनातर्फ थियो । मस्तिष्कभरि अघिल्लो दिनको पानीघट्टको पाथर घुमेझैँ फनफनी घुमिरहेको थियो रमेश । यत्तिकैमा, उनको कक्षाकोठाको बाहिरपट्टि केही केटाहरू गफ गरिरहेको आवाज उनका कानमा पर्यो । झ्याल खुल्लै भएकोले उनीहरूले बोलेका कुराहरू कक्षाकोठाभित्र प्रष्टै सुनिन्थ्यो, ‘हिजो साँझ रमेशलाई मरणासन्न हुने गरी पिटेछन् पल्लो गाउँका केटाहरूले ।’

रमेशको नाम सुन्नेबित्तिकै उनी भित्रैदेखि तरङ्गित भइन् । अर्को केटाको आवाज आयो– ‘किन पिटेछन् हँ उसलाई ?’

फेरि अर्कोले बोल्यो ‘निकै विद्रोह र क्रान्तिका कुरा गथ्र्यो, छाउ भएकी आइमाईलाई घरमै राख्नुपर्छ भन्थ्यो । त्यसैले होला नि !… बिचरो ! दिनभरि घट्टबाट भोकाएर र थाकेर आउँदै रै’छ ।…’

अचानक झुमाको आँखामा आक्रोशको आगो बल्न थाल्यो । उनलाई बुझ्न गाह्रो भएन, केटाहरू उनकै रमेशको बारेमा कुरा गरिरहेछन् । उनले आफ्ना दायाँ–बायाँ केही देखिनन् । सरसँग अनुमति नै नमागी किताब कक्षाकोठामै छोडेर एकाएक बाहिर निस्किन् झुमा ।

बाहिर आइपुगेर रमेशको मोबाइलनम्बर डायल गरिन् । तर फोनमा रमेशको बहिनीको स्वर आयो– ‘दाइलाई उपचारको लागि नेपालगञ्ज लाने तयारी हुँदै छ ।’

झुमा हत्तारिँदै रमेशको घरतिर लागिन् । तर ढिलो भइसकेको थियो, रमेशको घर पुग्न नपाउँदै रमेशलाई एम्बुलेन्समा राखेर नेपालगञ्ज लगिसकिएछ । झुमाको मनमा क्रोधको राँको सल्कियो । कसले कुट्यो मेरो रमेशलाई ?… किन कुट्यो ?… उसले कसको के बिगारेको थियो र ?… के अपराध गरेको थियो उसले ?

रमेश आक्रमणमा परेको हप्तौँ भइसकेको थियो । प्रहरीले कुनै पनि दोषीलाई पक्रेर कारवाही गर्न सकेको थिएन । उनलाई प्रहरीप्रशासनप्रति पनि झोँक चल्न थाल्यो । गाउँका केही धर्मभिरु पाखण्डीहरुरूको आदेशमा तिनैद्वारा सञ्चालित सुकुल गुण्डाहरू लगाएर रमेशलाई पिटेको कुरा घामजत्तिकै छर्लङ्ग थियो । तर, रमेशमाथिको त्यो अमानवीय साङ्घातिक हमलालाई राजनीतिकरण गरियो । प्रहरीहरू भन्थे– ‘माथिको दबाव छ । त्यसैले हामी दोषीलाई कार्वाही गर्न सक्दैनौँ । तपाईंहरू गएर बरु नेतालाई भन्नुहोस् !’

केही सीप लागेन । अपराधीहरूले सम्पूर्ण शक्ति लगाएर त्यो जघन्य अपराधलाई ढाकछोप गरेरै छोडे । रमेशले हार्यो । रमेशको परिवारले हार्यो र हार्यो न्यायले ।

उता, रमेशको उपचारमा मोटै रकम खर्च भइरहेको थियो । रमेश आबद्ध विद्यार्थी सङ्गठन र उक्त सङ्गठनको माउपार्टीले समेत एउटा विज्ञप्ति निकाल्नबाहेक कुनै सहयोग गरेन । रमेशका बुवा–आमाले घरखेत, गरगहना बेचेर उसको उपचार गराइरहेका थिए ।

उपचारमा गएको डेढ महिनापछि रमेश आफ्नो टाउकोमा आफूभन्दा गह्रौँ ऋणको भारी बोकेर घर फर्कियो । ऊ घर फर्केको खबर पाउनेबित्तिकै झुमा रमेशलाई भेट्न उनको घर पुगिन् । घर पुग्दा देखिन्– हिजोको बलिष्ठकाया भएको रमेश साह्रै दुब्लो र कमजोर अवस्थामा थियो । यस्तो देख्दा झुमा अत्यन्तै भावविह्वल भइन् ।

समय बित्दै गयो । समयका साथ–साथ रमेश पहिलेको जस्तै तङ्ग्रिदै गयो र अन्ततः पहिलेकै स्थितिमा फर्कियो । अब ऊ फेरि क्याम्पस जान थाल्यो । पूर्ववत्, क्याम्पसमा झुमा र रमेशको दिनचर्या हुन थाल्यो । अझ अघि बढेर, उनीहरूको प्रेम–सम्बन्ध पहिलेको भन्दा झन् गाढा हुँदै गयो । माघमा बिहे गर्ने भन्ने पहिलेको सहमतिलाई मूर्तरूप दिने मनस्थितिमा पुगे उनीहरू ।

माघ लाग्न केही दिन मात्र बाँकी थियो । बिहेको मिति तय भयो, माघ २ गते ।

झुमा र रमेश दुवैको घरमा पनि तिनीहरूबीचको सम्बन्धले प्रवेश पायो । गाइँगुइँ कुराहरू सुनिन थाले । रमेशले त आफ्नो परिवारलाई मागी–बिहेको लागि मनाउन सक्थ्यो, तर झुमालाई भने घरमा अन्तरजातीय बिहेको कुरा चलाउन मात्रै पनि गम्भीर अपराध ठहथ्र्यो ।

रमेशले झुमालाई भगाएर टीकापुर दिदीको घरमा लाने र त्यहीँ नजिकैको मन्दिरमा गएर झुमाको सिउँदो सजाउने सपना बुनिरहेको थियो । तर माघ १ गतेको दिन नै झुमा महिनावारी भइन् । जबकि उनको महिनावारी यस पटक अलिक छिट्टै भएको थियो । साँझ, यो कुरा फोन गरेर रमेशलाई सुनाइन् । रमेशको पनि मन अमिलो भयो । अब दुवै जनाको सहमतिले बिहेको मिति माघ १० गतेलाई सारियो र भोलिपल्ट बिहान क्याम्पसमा भेट्ने सल्लाह गर्दै टेलिफोन वार्ता त्यही टुङ्ग्याए ।

रमेश सदाझैँ बिहान साढे ५ बजे नै उठ्यो र चिया खाईवरी झोला भिरेर क्याम्पसतिर लाग्यो । बाटैबाट झुमालाई कल गर्यो । उताबाट– ‘तपाईंले डायल गर्नुभएको नम्बरमा सम्पर्क हुन सकेन’ भन्ने आवाज आयो । पुनः सम्पर्क स्थापित गर्न खोज्यो, त्यही ‘सम्पर्क… हुन सकेन’ भन्ने आवाज दोहोरियो ।

केहीछिनमै झुमाको घरनजिक रहेको छाउगोठनेरको बाटोमा आइपुग्यो रमेश । करीब ६ बजेको हुँदो हो त्यतिखेर । उसले देख्यो– छाउगोठको वरिपरि केही महिला र पुरुषमान्छेहरू उभिएर छाउगोठतिर हेर्दै एक–आपसमा गाइँगुइँ गरिरहेका थिए । रमेश हत्तारिँदै छाउगोठनजिकै पुग्यो र सोध्यो– ‘के भयो हँ यहाँ ?’

त्यहाँ वरिपरि भेला भएकाहरूमध्ये एकले भन्यो– ‘हिजो राति सुत्नुभन्दा अघि आगो बालेर झुमाले छाउगोठका सम्पूर्ण झ्याल–ढोकाहरू थुनेर सुतिछन् । सुतेकै अवस्थामा धूवाँमा निस्सासिएछिन् बिचरी ।’

‘आफैँले शिक्षा दिँदै हिँड्ने गरेकी…, कसरी आफैँ… ?’ अर्कोले आशङ्का उब्जायो ।

छेउमै, झुमाको अत्यन्तै नजिककी एक साथी थिइन्, उनी सुँकसुँकाउँदै बोलिन्– ‘यो महिना उसको महिनावारी अलिक छिट्टै भएकोले हो कि, अलिक कमजोरजस्तो भएकी थिई, सुत्ने बेलामा आगो निभाउन सकिनन् कि कुन्नि !’

‘होला, पक्कै पनि त्यही भएको हुनुपर्छ ।’ अर्की महिलाले सही थापिन् ।

रमेशले छाउगोठको ढोकाबाट चियाएर भित्र हेर्यो ‘उफ् ! यो के भयो झुमा ?’ रमेश पागलझैँ एकाएक चिच्यायो– ‘कसरी यस्तो भयो झुमा ? कसरी ??’

तर जवाफ दिने कसले ? जवाफ दिन सक्ने भनेको झुमा त चिरनिद्रामा सुतिरहेकी थिइन् ।

अचानक ! रमेशमा एउटा विद्रोह चेत जुर्मुरायो र त्यही छाउगोठको धुरीमा चढेर पुरातन समाजको विरुद्धमा जोड–जोडले नारा लगाउन थाल्यो–
रूढिग्रस्त समाज– मुर्दावाद !
छाउपडी प्रथा– मुर्दावाद !!
धर्मभिरु पाखण्डीहरू मुर्दावाद !!!

त्यहाँ उपस्थित सम्पूर्ण आँखाहरू त्यतिबेलासम्म रमेशमाथि गढिरहे, जबसम्म रमेश थाकेर चुप लागेन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV