१ माघ २०७८, शनिबार
  • दान बहादुर बुढा,

मुगु । मुगुको सोरु गाँउपालिका–९ खनायाकी निर्मला शाहीले सिलाई कटाईबाट नै आत्मनिर्भर बन्ने बताएकी छन् । जोखिम मोलेर खेत–बारीमा काम गर्दै आएकी शाहीले एक स्थानीय संस्थाबाट सिलाई कटाईको तालिम लिएपछि आगामी दिनमा सिलाई कटाईबाट आत्मनिर्भर बन्ने बताएकी हुन् ।

टेवा नेपालको आर्थिक सहयोगमा महिला अधिकार केन्द्र नेपालले स्थानीय महिलाहरुलाई गत असोज १ गतेदेखि तीन महिने सिलाई कटाई तालिम दिएको थियो । निर्मला शाहीले भनेकी छन्, ‘विगतका दिनहरुमा जोखिम मोलेर खेतबारीमा काम गर्दै आएकी थिएँ । अहिले सिलाई कटाई तालिमबाट कुर्था–सुरुवाल, चोला, मेक्सीलगायत अन्य कपडाहरुको सिलाई कटाई सिकेकी छु ।’

उनले फेरि भनिन्, ‘अब आगामी दिनहरुमा यही सिलाई कटाईबाट घर–परिवार चलाउने, बालबच्चा पढाउने–लेखाउने र आत्मनिर्भर बन्नेछु ।’ कुनै बेला सिलाई कटाई गर्ने कामलाई अर्कै दृष्टिकोणले हेर्ने गरिन्थ्यो । तर, पछिल्लो समय राम्रो आम्दानीसमेत हुने भएपछि सिलाई कटाई पेसालाई हेर्ने पुरानो दृष्टिकोण पूरै परिवर्तन भएको छ ।

प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले पनि सिलाई कटाई तालिमबाट सिकेको कुरा नियमित रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तालिमबाट सिकेको कुरा नियमित प्रयोग गर्नुहोस् र ब्यवसायिक बन्नुहोस् ।’

महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकुमाया शाहीले चार लाख रुपैयाँ मात्र बजेट भएकोले पहिलो चरणमा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि ५ जनालाई मात्र सिलाई कटाईको तालिम दिइएको जानकारी गराइन् ।

आफूले सिकेको सीप ब्यवसायिक रुपमा सञ्चालन गर्न आग्रह गर्दै उनले सबै जनालाई एक–एक थान लुगा सिउने मेसिन, कैंची, स्केल, आइरन र इन्टरलक निःशूल्क वितरण गरिएको जानकारी पनि गराइन् ।

  

प्रतिक्रिया दिनुहोस्

LIVE TV