१ माघ २०७८, शनिबार
  • सविन लामिछाने,

दमौली । जिल्लाको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ जीप दुर्घटनामा परी ६ जना यात्रुको मृत्यु भएको छ । त्यस्तै दुघर्टनामा परी अन्य ८ यात्रु घाइते भएका छन् ।

बन्दीपुर गाउँपालिका–६ बाक्सेबाट धरमपानी जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप हटिया भन्ने ठाउँमा सडकबाट करिब १ सय मिटर तल खस्दा बन्दीपुर गाउँपालिका–६ धरमपानी बस्ने ९ महिने बालिका आरूवी थापा, २३ वर्षीय रोशन गुरूङ, ५३ वर्षीय हरि बहादुर न्यौपाने, ४८ वर्षीया सुशिलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुक बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको हो । दुर्घटनामा परी १६ वर्र्षीया सनिसा थापा, ७ महिनाकी बिबिसा मगर, ४८ वर्षीया ममकुली गुरुङ्ग, २२ बर्षीया कुमारी गुरुङ, २१ बर्षीया जमुना थापा, १८ बर्षीय कुमार थापा, २० बर्षीय दान बहादुर थापा र २१ बर्षीय बिपिन थापा घाइते भएका छन् ।

घाइतेमध्ये केहीको बन्दीपुर अस्पतालमा र केहीलाई थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त दुर्घटनामा ज्यान गुमाएकाहरुको शव दमौली ल्याइएको छ ।

दुर्घटना लगतै घाइतेको उद्धारका लागि गाउँपालिकाको गाडी घटनास्थलमा पठाएर घाइतेहरुलाई उपचारका लागि बन्दीपुर अस्पताल ल्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

दुर्घटना भएको जीपमा १४ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV