१ माघ २०७८, शनिबार
  • डा.अमर गिरी

घाइते छ्यौ तिमी
शिरदेखि पाउसम्म
हेर्छु, अलमलिन्छु
तिमी उही हौ या अर्कै
गाह्रो भएको छ खुट्याउन
हेर्छु दक्षिणतिरको पहाड
पहाडमा लुक्दै गरेको सूर्य
हेर्छु पीडाको सुसेली हाल्दै
बगिरहेकी तिमीलाई
र फर्किन्छु अतीततिर
आँखामा नाच्छ तिम्रो लावण्य
हावाको सारेगममा
नाचिरहेका वृक्षका पातहरु जस्तै ।

वर्षौंपहिले कुनै साँझ
हिमालजस्तो पवित्र तिम्रो काखमा
निदाएको थिएँ म दोपहरको घाममा
तिम्रो अद्भुत लयले अभिभूत
मेरो हृदयको एउटा कुनामा
कोरिएका थिए
कविताका केही हरफहरु
तिम्रो गतिको
तिम्रो अनुपम रागको
तिम्रो सौन्दर्यको
र तिम्रा सुन्दर आँखाबाट
निसृत सहस्र ज्योतिहरुको
कविताका ती हरफहरु
अहिले पनि सुरक्षित छन्
हृदयको त्यही कुनामा ।

बोल्न खोजिरहेको छु
बोल्न सकिरहेको छैन
स्पर्श गर्न खोजिरहेको छु
स्पर्श गर्न सकिरहेको छैन
तिम्रा घाउहरु चहर्या उँछन् कि
तिमीलाई अझ दुख्छ कि
दुखाइबाट निस्कने
पीडाका स्वरहरुबाट
मभित्र जन्मिने सघन वेदना
खप्न सक्तिन कि म
डराइरहेछु
मलाई हेरिरहेका
दुःखले भिजेका तिम्रा आँखा
तिम्रो अनुहारका पृष्ठहरुमा
कोरिएका विषाद्का पंक्तिहरु
कष्टले पढिरहेछु म
तिम्रा प्रत्येक घाउहरुले
कथा भन्छन् भयानक दुष्टताको
दुष्टता कसरी हतियार चलाउँछ
कसरी हत्या गर्छ जीवनको
सौन्दर्यको, भविष्यको
र सघन बादलले छोपिएझैं पहाड
छोपिन्छ धर्ती अँध्यारोले
तिम्रा घाउहरुमा पढिरहेछु म ।

तिमी छ्यौ र त पहाडहरु छन्, वृक्षहरु छन्
जीवन छ, वाणी छ, शब्दहरु छन्
गीतहरु छन्, रागहरु छन्, सौन्दर्य छ
तिमी हिँडेको बाटो
जीवनबाट आरम्भ भएर जीवनमा सकिन्छ
सिर्जनाबाट सुरु भएर सिर्जनामै टुंगिन्छ
अविराम भित्रबाहिर गरिरहने स्वास तिमी
तिमीबिना कल्पना गर्न सकिन्न अस्तित्वको
अस्तित्व तिमीबाटै सुरु हुन्छ
र तिमीमै गएर सकिन्छ ।

देश छ सायद तिम्रा निम्ति छैन
देश चलाउनेहरु छन्
सायद तिम्रा निम्ति छैनन्
तिम्रो देहलाई काटिरहेछन् कोही बगरेले जसरी
र बेचिरहेछन् बजारमा
तर चुपचाप छ शासन
यो शासन हो कि व्यापारीहरुको दुकान
यो देश हो कि कुनै कर्पोरेट संस्था
बगरेहरुविरुद्ध किन छ यो मौन
या आफै संलग्न छ कारोबारमा ?
प्रिय मनहरु !

कसरी हेर्न सकिन्छ यो व्याघात ?
कसरी बस्न सकिन्छ शान्त ?
कसरी रहन सकिन्छ मौन ?
वृक्षहरु उठ
पक्षीहरु उठ
कविहरु उठ
सुन्दर मनहरु उठ
हत्याराहरुविरुद्ध उठ
कालीगण्डकीका निम्ति उठ
नदीहरुका निम्ति उठ
जीवनका विरुद्ध धावा बोलिएको यो समयमा
उठ, जीवनका निम्ति उठ !
***

अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङ्खला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृङ्खलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ राख्ने गरेका छाैँ ।

अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV