३० पुष २०७८, शुक्रबार
  • बाल बिक्रम कार्की,

रौतहट । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुले रौतहटको चन्द्रपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सुविसुको २१ औं बार्षिकोत्सव अवसरको आयोजनामा चन्द्रपुर शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको शाखा प्रमुख वासुदेव उपाध्यायले बताए ।

उनले सुविसुले एकैसाथ देशभरका २१ वटा शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाउँदै सुविसुले व्यवसायिक सँगसँगै सामाजिक उत्तरदायित्व पनि वहन गरिरहेको बताए ।

सो रक्तदान कार्यक्रमको उद्घाटन गर्दै रौतहट क्षेत्र नम्बर ४ का सासंद देव प्रसाद तिमिल्सिनाले एक‌एक थोपा रगत पनि अमूल्य हुने भएकाले शरीरभित्र खेर जाने रगत दान गरे अरु कसैको ज्यान जोगाउन काम लाग्ने हुनाले स्वस्थ व्यक्तिले निर्धक्क साथ रक्तदान गर्नुपर्नेमा जोड दिए ।

चन्द्रपुर अस्पताल प्रालिका सञ्चालक डाक्टर सुवास चौधरीले दान गरिएको रगतले धेरै बिरामीको ज्यान जोगाउन सफल भएको अनुभव सुनाउँदै मानव रगतको विकल्प मानव रगतनै भ‌एकाले सुविसुले आयोजना गरेको सो रक्तदान कार्यक्रमबाट संकलित रगत धेरै जनाको ज्यान जोगाउन काममा आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहटका सदस्य धर्मेन्द्र सिंह, रौतहट जिल्ला फुटवल संघका अध्यक्ष भगवान दर्लामी, प्रेस चौतारी प्रदेश २ का संयोजक फणि महत, पतन्जली योग समिती चन्द्रपुरका अध्यक्ष अर्जुन तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रमको सभाध्यक्षता सुबिसु इन्टरनेटका रौतहटका उत्तरी क्षेत्रिय साझेदार प्रमुख विमल महतले गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले तथा चन्द्रपुर अस्पताल प्रालिको प्राविधिक सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा सुविसुका कर्मचारी र सर्वसाधारण गरेर २५ जनाले रक्तदान गरेको शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV