३० पुष २०७८, शुक्रबार

मोरङ । प्रदेश १ सरकारले कोभड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा आज राजनीतिक दलसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मुख्यमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको वैठकले रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न छलफलको आयोजना गरिएको हो ।

मुख्यमन्त्री राईले कोभड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । उनले राजनीतिक दलको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दल र तीनका भातृ सङ्गठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गरे ।

“सरकारको प्रयासमा दलले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्”, मुख्यमन्त्री राईले भने । उनले प्रदेशमा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने सङ्ख्यामा कमी आएकोमा राजनीतिक दललाई यसप्रति जागरण पैदा गरिदिन अपील गरे ।

कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा बन्दाबन्दी गर्ने अवस्था नआउनेगरी सामाना गर्नुपर्नेमा जोड दिंँदै मुख्यमन्त्री राईले बन्दाबन्दीले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार सम्वेदनशील रहेको बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड सङ्क्रमण विरुद्ध सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गरे । उनले कोभिड विरुद्ध अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बुस्टर डोजका रूपमा खोप दिन सरकार प्रतिवद्ध रहेको बताए ।

उनले रोगको सङ्क्रमण फैलिएको अवस्थामा एकले अर्कामा जिम्मेवारी पन्छाएरभन्दा पनि एक आपसमा मिलेर अघि बढ्न आग्रह गरे । सामाजिक विकास मन्त्री जयराम यादवले रोगको सङ्क्रमण फैलिएको अवस्थामा राजनीतिक दललाई भीडभाड हुने खालको कार्यक्रम नगरी दिन अपील गरे ।

उनले विगतमा आफू सरकारमा नभएको अवस्थामा पनि कोभिड विरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV