२९ पुष २०७८, बिहीबार

काठमाडौं । निर्माण व्यवसायीहरुले कोरोना र बजेटका कारण निर्माण आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको बताएका छन् । सिंहदरबारमा विहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा उनीहरुले म्याद पटक–पटक थप गर्दा पनि बिबिध कारणले आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको बताएका हुन् ।

निर्माण व्यवसायमा आर्थिक समस्या देखिएको र धेरै आयोजनाहरु बजेट नभएको तथा स्वामित्व विवादका कारण पनि कतिपय आयोजनाहरु अघि बढ्न नसकेको उनीहरुले बताए । बैठकमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण कार्यको धरौटी शत प्रतिशत फिर्ता हुने भनिएपनि हुन नसकेको गुनासो गरे ।

मुलुकमा आर्थिक संकट परेका बेला राज्यले नै गरेको निर्णय कार्यान्वयन हुन नसकेका कारण त्यसको असर निर्माण आयोजनामा परेको उनले बताए । अध्यक्ष सिंहले बजेटमा व्यवस्थापन भएको भ्याट फिर्ताको प्रावधान पनि दुई बर्षदेखि कार्यान्वयन नभएको धारणा राखे ।

बैठकमा सांसदहरुले राज्यको नीति सही नहुदा बिकास खर्च हुन नसकेको बताएका थिए । बैठकमा सांसद यज्ञराज सुनुवारले पार्टीमा लागेका निर्माण व्यवसायीहरुलाई राजनीतिक संरक्षण भएका कारण केहि आयोजनाहरु अलपत्र र गुणस्तरहीन हुने गरेको बताए ।

सांसद गजेन्द्रबहादुर महतलले अर्थमन्त्रीले पैसा बजारमा नलगेर बैंकमा राख्ने नीति लिँदा समस्या भएको बताए । विकास निर्माण हुन नसक्नुमा सांसद र मन्त्री पनि दोषी रहेको उनको भनाइ छ ।

बैठकमा समिति सभापति कल्याणी खड्काले निर्माण व्यवसायीहरुबाट निर्माण सामाग्रीको उपलव्धता, गुणस्तर र सार्वजनिक खरिद ऐन तथा नियमावलीमा समय सापेक्ष संसोधन हुनुपर्ने धारणा आएकाले विषयमा पुन छलफल गर्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV