२९ पुष २०७८, बिहीबार

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा ट्याटु खोपाउनका लागि लाइन बसेका एक युवकको मृत्यु भएको छ । भक्तपुरको लोकन्थलीस्थित ‘इन्क ट्याटु’मा लाइन बस्दा बेहोस् भएका ३३ वर्षीय विराज खड्काको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार (हिजो) राति साढे १० बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस् भएर ढलेका थिए । बेहोस् भएपछि आफन्त र ‘इन्क ट्याटु’का सञ्चालक आरुष मल्लले उनलाई सिनामंगलस्थित केएमसी अस्पताल पु-याएका थिए ।

तर, उपचारको क्रममा अस्पतालले विहीबार बिहान उनको मृत्यु भएको घोषणा गरेको हो । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । मृतक खड्काको स्थायी घर मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली भएपनि उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV