२९ पुष २०७८, बिहीबार

एजेन्सी । युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले उपाधि जितेको हो ।

इन्टर मिलानलाई उपाधि दिलाउनको लागि लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले समान एक–एक गोल गरे । युभेन्ट्सका वेस्टन म्याकेनीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २५औं मिनेटमा वेस्टनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।
३५औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । इडेन जेकोलाई डि स्किजलियोले लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो ।

त्योपछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पनि थप गरिएको समय अर्थात १२१ औँ मिनेटमा एलेक्सिसले गोल गर्दै इन्टर मिलानलाई च्याम्पियन बनाए ।

७५औं मिनेटमा मार्टिनेजको स्थानमा मैदान छिरेका उनले माटियो डारमेनको पासमा गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV