२८ पुष २०७८, बुधबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । पर्साको धोविनी गाउँपालिकाका स्थानीयहरुले गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी तथा जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । केही दिनदेखि गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत राजु साहलाई सरुवा गराउन विभिन्न प्रपञ्च रचेको भन्दै स्थानीयहरुले उनीहरुविरुद्ध प्रदर्शन गरेका हुन् ।

मंगलबार गाउँपालिका कार्यालय पुगेका स्थानीयहरुले प्रमुख प्रशासकीय अधिकृत राजु साहले पारदर्शी तरिकाले काम गरिरहेको कारण जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्न नपाएकाले उनको सरुवा गराउन लागिपरेको आरोप लगाएका छन् ।

त्यस्तै स्थानीयहरुले राजु साहको जनप्रतिनिधिहरुले विरोध गर्नु, उनको कार्यकक्षमा तालाबन्दी गर्नु, उनी चढ्ने गाडी नियन्त्रणमा लिनु, हाजरी रजिस्टर तथा दर्ता चलानी रजिस्टर लिनु जस्ता कार्यहरुको विरोध गर्दै जनप्रतिनिधिहरुविरुद्ध नारावाजी गरेका हुन् ।

गत असोज ८ गते धोविनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका साहले पालिका अध्यक्षलगायत जनप्रतिनिधिहरुले विगतमा गरेको अपारदर्शी कामको भुक्तानी नगरेपछि उनलाई सरुवा गराउन दबाब दिदै आएका छन् । पालिकाको बोर्ड बैठकबाट प्रशासकीय अधिकृतलाई सरुवा गर्न निर्णय गरी मन्त्रालयमा पठाएपनि उनको सरुवा नभएपछि पालिका अध्यक्ष कुर्मीको योजनामा यही शुक्रबार प्रमुख प्रशासकीय अधिकृत राजु साहविरुद्ध जनप्रतिनिधिहरुले नाराबाजीसहित विरोध प्रदर्शन गर्दै उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

यहाँसम्म कि उनी चढ्ने गाडीसमेत पालिका अध्यक्षले आफ्नो नियन्त्रणमा लिएर आफ्नो घरमा लगेका थिए भने हाजिरी रजिस्टर, दर्ता चलानी रजिस्टर पनि पालिका अध्यक्षले आफ्नो नियन्त्रणमा लिएका थिए । यसरी पालिकामा भइरहेको भ्रष्टाचारलाई रोक्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतमाथि विभिन्न आरोप लगाउँदै जनप्रतिनिधिहरुले विरोध गरेपछि मंगलबार अधिकृत साहले पालिकाका स्थानीहरुको रोहबरमा आफूले कार्यभार सम्हालेदेखि खर्च गरेका हिसाब किताब सार्वजनिक गरे ।

अधिकृत साहले ६ महिनाको अवधिमा १० करोड ८८ लाख ८५ हजार ६३४ रुपैया खर्च भएको हिसाबकिताब सार्वजनिक गरेका छन् । उनले, समाजिक सुरक्षातर्फ ३ करोड ६० लाख ७७ हजार ३ सय ३७, सशर्त कार्यक्रममा ३ करोड ३ लाख ६४ हजार ७ सय १५, कार्यालय, वडा र बेरुजु पछ्र्यौट तर्फ ३ करोड ७४ लाख १३ हजार ५ सय २६ रुपैया र योजनातर्फ ५० लाख ३० हजार ५६ रुपैया खर्च भएको हिसाब किताब सार्वजनिक गरे ।

अधिकृत साहले १ करोड भन्दा बढी रकम निकासा गरि विभिन्न शीर्षकमा खर्च गरेर अनियमितता गरेको आरोप गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मी एवं अन्य जनप्रतिनिधिहरुले लगाएपछि त्यसको जवाफमा प्रशासकीय अधिकृत साहले गाउँ भेला नै गरी आफ्नो हिसाब किताब सार्वजनिक गरेका हुन् ।

हिसाब किताब सार्वजनिक गर्ने क्रममा अधिकृत साहले आफूले चलाएको बजेटको एक–एक रुपैयाको हिसाब आफूसँग सुरक्षित रहेको भन्दै सम्पूर्ण जनताकै अगाडि हिसाब किताब सार्वजनिक गरे । त्यस पश्चात आक्रोशित स्थानीयहरुले पालिका अध्यक्षलगायत जनप्रतिनिधिहरुविरुद्ध नारावाजी गर्न थालेपछि स्थानीय प्रहरी प्रशासनको सहयोगमा विवादलाई साम्य पारिएको थियो ।

पालिकालाई जनप्रतिनिधिहरुले आफ्नो मनोमानी तरिकाले चलाउन नसकेपछि राजनीति गर्न थालेको स्थानीयहरुको भनाइ छ । स्थानीय निकाय सम्हालेदेखि आजसम्म कार्यालयमा उपस्थित नभएका जनप्रतिनिधिहरुले पनि अहिले आफू अनुकुल भ्रष्टाचार गर्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न लाञ्छना लगाई फोहरी राजनीति गर्न खोजेको भन्दै अब पालिका अध्यक्षले पनि हिसाब किताब सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

स्थानीयहरुले भनेका छन्, ‘पालिका अध्यक्षले सर्वसाधारणसँग सभ्य तरिकाले कुराकानी गर्दैनन् । काम भन्दा पनि आफ्नो धाँधली चलाउन खोज्छन् । आफ्नो मनमौजी तरिकाले बजेट निकासा गर्छन् । उनले गरेका विभिन्न भ्रष्टाचारहरु रोक्न खोज्दा अधिकृतको गाडी समेत आफ्नो कब्जामा लिन्छन् । पालिका अध्यक्षको यस्तो कार्य निन्दनीय छ । अहिले पनि आफ्नो रवैया नसुधारे जनताले त्यसको प्रतिकार गर्नेछन् ।’

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत साहले पालिका अध्यक्षलगायत जनप्रतिनिधिहरुले आफू अनुकुल काम हुन नसकेपछि आफूलाई बद्नाम गराउन विभिन्न प्रपञ्च रचेको आरोप लगाए । ‘उनले हिसाब किताब मागेको मैले सहजै तरिकाले दिने थिए । तर, उहाँहरुले विभिन्न आरोप लगाउँदै मविरुद्ध नारावाजी गराएकोले मंगलबार मैले सार्वजनिक रुपमै हिसाब किताब दिए’, उनले भने ।

सबै हिसाबको बिल, भौचर आफूसँग सुरक्षित रहेको भन्दै यसबाट पनि चित्त नबुझे अख्तियार लगायत सम्बन्धित अन्य निकायहरुको ढोका खुल्ला रहेकोले ढुक्क साथ जहाँ पनि जान सक्ने बताए । यता गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले अधिकृत साहले कसैसँग कुनै सल्लाह नै नगरी आफ्नो मनमौजी तरिकाले पालिका चलाउन खोजेको आरोप लगाए ।

उनले आफूहरु जनप्रतिनिधि हुँदाहुँदै कोहीसँग कुनै किसिमको समन्वय नै नगरी गाउँपालिका स्तरीय बजेटहरुलाई चलाइरहेको तथा शिक्षक समितिको निर्णय विना नै ३ जनालाई शिक्षक नियुक्ति गरेको तथा अन्य विभिन्न कामहरु गरेकोले आफूहरु हिसाब किताब माग गरेको बताए । कर्मचारीले गरेको कामलाई सोधपुछ तथा खोजविन गर्नु जनप्रतिनिधिहरुको अधिकार रहेकोले हिसाब किताब माग गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV