२८ पुष २०७८, बुधबार
  • सुरेश भट्ट,

कञ्चनपुर । कञ्चनपुरको महाकाली यातायात कार्यालयले सवारी चालक अनुमति पत्रको लागि ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागू हुने गरी सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ जारी गरेपनि संघ र प्रदेशबीचको अन्यौलता र दुई संयन्त्रबीच समन्वय हुन नसक्दा ट्रायलमा नयाँ व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन ।

सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास हुने र अब अंकको आधारमा चालकले अनुमति–पत्र पाउन सक्ने महाकाली यातायात कार्यालय कञ्चनपुरका प्रमख विनोद कुमार मालीले बताए ।

सरकारले ७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमति पाउने ब्यवस्था गरेपछि आफूहरुलाइ अनुमति पत्र पाउन सजिलो भएको उनले बताए । त्यस्तै पछिल्लो समय सवारी चालक अनुमतिका लागि नयाँ फर्मको भिजिट डेट र ट्रायल ढिलो आउने भएकाले सकेसम्म छिटो ट्रायल भइदिए आम मानिसलाइ सजिलो हुने स्थानीयको भनाइ छ ।

प्रदेश सरकार मातहतका अधिकांश यातायात व्यवस्था कार्यालयले भने ७० अंक ल्याए पास हुने ट्रायल लागू गर्न आनाकानी गरिरहेका छन् । नयाँ निर्देशिका कार्यान्वयन नहुँदा सवारी चालकको प्रयोगात्मक परीक्षा दिनेले अहिले पनि पुरानै ट्रायल पद्धतिबाट दिँदा मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV