२७ पुष २०७८, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौँ । पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइएको छ । सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतले माल्यार्पण गरेर उनको स्मरण गरिएको हो ।

आज (मंगलबार) बिहान सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको सालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । सो क्रममा नेपाली सेनाको टोलीले सम्मान तथा सलामी समेत टक्य्राएको थियो ।

३०० औँ पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएकाे हाे । सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि सालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गर्नुभएको थियो । यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो । शोभायात्राले राष्ट्रनिर्माताको सालिकमा पनि परिक्रमा गरेको थियो ।

राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायणलाई सर्वसाधारणदेखि राजनेताहरुले सम्झँदै आएका छन् । आज परेको उनको ३०० औँ जन्मजयन्तीमा विभिन्न राजनीतिक दलका नेता, संघ-संस्था तथा सर्वसाधारण समेत उनको सालिकमा माल्यार्पण गर्दै श्रद्धा प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV