२४ पुष २०७८, शनिबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार बिहानै बालकोट पुगेका हुन् ।

देउवा प्रधानमन्त्री बनेदेखि नै प्रमुख प्रतिपक्षी एमालेले संसदमा अवरोध जारी राखेको छ । संसदको गतिरोध अन्त्य गराउन आग्रहसहित ओलीलाई भेट्न देउवा उनकै निवासमा पुगेको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री र सभामुखले संसदको गतिरोध हटाउने बारे पटकपटक सर्वदलीय बैठक बोलाएका थिए । तर एमाले अध्यक्ष ओली ती बैठकहरुमा गएनन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाउँदा पनि ओली नगएपछि देउवा नै बालकोट पुगेका हुन् ।

स्रोतका अनुसार ओली र देउवाबीच संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।

यसअघि गत मंगलबार सरकार सञ्चालन सम्बन्धी उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ओलीसँग भेटेर संसदमा अवरोध नगर्न आग्रह गरेका थिए ।

विगतदेखि नै सभामुख अग्नि सापकोटाको भूमिकादेखि असन्तुष्ट रहेका ओली र उनको पार्टीले घुमाउरो पाराले सभामुखले माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । वर्तमान सत्ता गठबन्धन अपवित्र रहेको र एमाले फुटाएर माधव नेपालले गठन गरेको एकीकृत समाजवादी पार्टी पनि अवैध रहेको ओलीले बताउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV