२४ पुष २०७८, शनिबार
  • मनिषा गौचन

हे काली !
तिमी शान्त नीलिमा पनि हौ
हिउँदमा घामको जरीले टलपल टलपल टल्किने
जब वर्षा लाग्छ
तिम्रो निलो देहले पागल पहराहरू
फाल हाल्दै बग्छन् तिमीतिर
अनि तिमी कालीको स्वरूपमा
जंगिन्छ्यौ, उम्लिन्छ्यौ, उर्लन्छ्यौ
तिम्रो हलचल, तिम्रो गर्जन
जहाँ म महसुस गर्न पुग्छु
अद्भुत शक्तिको कम्पन
र जुरुक्क उठ्छु अनि छाम्छु आफैलाई
के म आफ्नो अस्तित्वबोधका निम्ति
यति शक्तिशाली हुन सकूँला ?

जसरी नदी हुनुको अस्तित्वबोध गर्न/गराउन
तिमी यतिसम्म गर्जन सक्छ्यौ, बहुलाउन सक्छ्यौ
र फेरि शान्त नीलिमा हुँदै
जताततै प्रेम बर्सन सक्छ्यौ
र सुम्पिन सक्छ्यौ मान्छेलाई
दामोदरकुण्डदेखि बोकी ल्याएको शिला
एक रहस्यमयी उपहार

तर, मान्छे न तिम्रो प्रेमले पग्लिन्छ
न तिमीले दिएको उपहारले रमाउँछ
ऊ त व्यस्त छ अचेल
नाफाको हिसाब गर्दै
तिमी बग्ने बाटोको नक्सा कोर्न
तर मलाई थाहा छ तिमी कुलो होइनौ
तिमी त नदी हौ, मेरो शान हौ
म एक यात्री तिम्रै किनारामा हुर्किएकी
मैले तिमीसँगै, जिन्दगीको गीत गाएकी छु
तिमीले कोरेका चट्टानहरुमा
आफ्नो पनि कथा मिसाएकी छु
र पटकपटक मनको भारी तिम्रो छहालमा बिसाएकी छु

हे काली !
अगाध विश्वास छ तिम्रो
पखाल्दिनु ती मान्छेहरुको फोहोरी मगज
र बगाइदिनु तिनका हातहरुबाट
तिम्रो बाटो फेर्ने नक्सा… !
***

अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङ्खला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृङ्खलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ राख्ने गरेका छाैँ ।

अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV