२३ पुष २०७८, शुक्रबार
  • रामगाेपाल तमखु

भक्तपुर ।  नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २५ औं स्थापना दिवस आज शुक्रवार भव्यरुपमा सम्पन्न भएको छ । दिवसको अवसरमा भक्तपुरका दुई पत्रकार पुरस्कृत भएका छन् । पत्रकारद्धय बाबाुकाजी साछेँ श्रेष्ठ र मोहन बल्ल पुरस्कृत भएका हुन् ।

साछेँ श्रेष्ठलाई भगवान महर्जन स्मृति पुरस्कारबाट र बल्ललाई मैंयादेवी स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको हो । दुबै जनालाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव नारायण किलम्बु तथा पुरस्कार संस्थापकहरूले सम्मान गरेका थिए । सम्मानित श्रेष्ठले पुरस्कारबाट आफू हौसिएको बताउँदै आफ्नो पत्रकारिताको पृष्ठभूमिबारे जानकारी दिए । श्रेष्ठले पत्रकार महांसंघको भवन निर्माणका लागि २५ हजार सहयोग समेत गर्ने बताएका थिए ।

त्यस्तै अर्का पुरस्कृत मोहन बल्लले समेत पुरस्कार वापत पाएको रकम महासंघको विकासमा लगाउन महासंघलाई हस्तान्तरण गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले कार्यक्रममा पत्रकारहरुलाई सम्मान गर्दै पत्रकारितामा निरन्तर सक्रियताको जरूरी रहेको बताए । अध्यक्ष पोख्रेलले पत्रकारिता मार्फत सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने भएकाले पत्रकारहरूको क्षमता विकासका लागि महासंघले आमसंचार प्रतिष्ठानको अवधारणा अघि सारेको बताए । उनले सरकारले पत्रकारितालाई संकुचन गर्न खोज्दा संचारकर्मीहरू दोहोरो मारमा पर्दै गएको उल्लेख गर्दै त्यसका निम्ति थप खबरदारी जरूरी रहेकोमा जोड दिए ।

त्यस्तै कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले पत्रकारसँग सहकार्य गरि भक्तपुरलाई समृद्ध बनाउन हातेमालो गरि अघि बड्ने बताइन् ।

त्यस्तै नेपाल पत्रकार महासंघका सचिव नारायण किलम्बुले कार्यक्रममा बोल्दै भक्तपुरको विकासमा पत्रकारहरूले खेलेको भूमिकाबारे चर्चा गरे । उनले अझ पनि भक्तपुरका पत्रकारहरूको सपना साकार हुन बाँकी रहेको उल्लेख गर्दै पत्रकारमाझ थपिएको चुनौतिलाई डटेर सामना गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै प्रेस रजिस्ट्रार कार्यालय बागमती प्रदेशका रजिस्ट्रार रेवती सापकोटाले बागमती प्रदेशमा कार्यरत पत्रकारहरूलाई तालिम संचालन गरिएको उल्लेख गर्दै प्रदेश सरकारले सञ्चारकर्मीको क्षमता अभिवृद्धिका कार्यक्रम ल्याइने जानकारी दिए । सापकोटाले सूचना प्रविधिले व्यक्तिलाई ग्लोबल बनाइसकेको बताउँदै अनलाइन पत्रकारले आफूलाई ग्लोबल पत्रकारको रूपमा लिएर पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै महासंघका उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाले उपत्यका प्रदेशलाई केन्द्रीय महासंघ र प्रेस रजिस्ट्रारको कार्यालयले बेवास्ता गरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV