२३ पुष २०७८, शुक्रबार

काठमाडौं । बन्दुके डाँडामा बन्दुक पड्किन छाडेको धेरै भयो । खानेपानी नहुँदा बन्दुक हुने मात्र नभई अरू मानिस नै विस्थापित भएको डाँडाको पहिचान भने अझै पनि बन्दुके डाँडा नै हो तर अब विस्तारै यो डाँडो फेरिँदैछ पोखरी डाँडाका रूपमा । यहाँ अब आधुनिक प्रविधिसहितको तरकारी र फलफूल खेती सुरु भएको छ ।

बाहिरपट्टि काठ र बाँस गाडेर भित्र प्लास्टिक हालेर बनाइएका ठूला तहगत पोखरीले गाउँलेको तरकारी बारी भिजाउने काम गर्छ । पोखरी मूल फुटेर बनाइएको होइन वर्षाको आकासे पानी सङ्कलन गरेर बनाइएका हुन् ।

पोखरी बनेपछि खानेपानी लिन झन्डै दुई घन्टा धाउनुपर्ने समस्याका कारण घरबारी छाड्न चाहनेलाई पनि बन्दुके डाँडो नै अब प्यारो लाग्न थालेको छ । त्यति मात्र होइन विभिन्न कारणले डाँडाबाट पाखा लागेका पनि विस्तारै फर्कन थालेका छन् ।

धनकुटा जिल्लाको साबिक कुरुले गाउँ विकास समिति–५ र हाल चौबिसे गाउँपालिका–३, बन्दुके डाँडा अहिले स्थानीय प्रविधिको प्रयोगमा विकासको नमुना बनेको छ ।

यस्तो विकासको खाका अमेरिकामा अध्ययन गरेर बन्दुके डाँडाको जैविक विविधता र वनस्पतिको अध्ययन गर्दै स्नातकोत्तर तहको शोधपत्र (थेसिस) लेख्ने क्रममा एक जना भारतीय नागरिकले सिकाएको पद्धतिको हो ।

भारतीय नागरिक राजीव गोयलले चार वर्षअघि त्यहाँको अवस्थाको अध्ययन गरेपछि अन्तर्राष्ट्रिय सहयोग जुटाएर जङ्गलमा परिणत भएको ३४६ रोपनी जग्गा किनेर सामुदायिक खेती गर्न किसानलाई तालिम दिनुभएको थियो ।

अहिले त्यही जग्गामा चारवटा पोखरी बनेका छन् । त्यसैको सिको गरेर स्थानीयले अरू स–साना पोखरी बनाउँदैछन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV