२२ पुष २०७८, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट । गत शुक्रबारदेखि अत्यधिक चिसो बढेपछि रौतहटलगायत तराई मधेसका जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण सर्वसाधरणको दैनिकी असहज बनिरहेको छ । चिसोको कारण गरीब तथा विपन्न परिवारका सदस्यहरु बढी प्रभावित बनेका छन् ।

हुँदा खाने समुदायका मानिसहरु न्यानो कपडा, ओड्ने, ओछ्याउनेको अभावमा जाडोमा कक्रिएर बस्न बाध्य छन् । उनीहरु फुसको घरमा पराल ओछ्याएर परालनै ओडेर सुत्ने गरेका छन् । दिउँसोको समयमा भने जाडो भगाउन धुनीको सहायता लिन्छन् ।

चिसोको कारण सो समुदायका बालबालिका र बृद्धबृद्धा झनै मुस्किलमा परेका छन् । देशमा विभिन्न तन्त्र आएपनि आर्थिक तथा सामाजिक रुपमा पछि परेका समुदायको जीवनस्तरमा भने खासै परिवर्तन नभएको उनीहरुको गुनासो छ ।

‘जब जाडो सुरु हुन्छ, तब कसरी चिसोबाट आफू बच्ने र परिवारलाई बचाउने तनाव हुन्छ’ एक चिसो पीडितले भने, ‘हामीहरु पुस्तौदेखि पातलो ओड्ने र परालको भरमा कठ्याङ्ग्रीदो चिसोको सामाना गरिरहेका छौँ । चिसो बढेपछि कोही दाता आउँला र न्यानो कपडा पाइएला भन्ने आशामा बसेको पनि वर्षौं बितिसकेको छ ।’

आफूले कमाएको पैसा दुई छाक खान पनि अपुग हुने उनीहरुमा न्यानो कपडा किन्ने क्षमता विकास गर्न कसैले चासो देखाएका छैनन् । देशमा रहेको तीनै तहको सरकारले चिसो बढेपछि ती समुदायका केही मानिसहरुलाई न्याना कपडा र ओड्ने बाडेर कर्मकाण्डी पूरा गर्ने गरेका छन् ।

आर्थिक, सामाजिक रुपले पछि परेका उनीहरुलाई आफै न्याना कपडाको जोहो गर्न सक्ने बनाउन तीनै तहका सरकार असफल भएको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका उपाध्यक्ष राजु तिवारी बताउँछन् ।

‘हालसम्म चिसो पीडितहरुका लागि कुनैपनि सरकारले कुनै ठोस योजना अगाडि ल्याएका छैनन्’, उनले भने, ‘शीतलहर बढेपनि चिसोबाट कसरी नागरिकलाई जोगाउने तयारी सरकारको छैन । अझ दैलोको सरकारको रुपमा चिनिएको स्थानीय सरकार पनि यस विषयमा सुस्त देखिएको छ ।’

विपन्न समुदाय प्रत्येक वर्ष आफूहरुलाई चिसोबाट जोगाउन आफ्नो सरकार र आफूले मत दिएर जिताएर पठाएका जनप्रतिनिधि र दाताको आशमा बसिरहेका हुन्छन् । चिसोकै कारण तराइ मधेशमा कयौं मानिसहरुले ज्यान पनि गुमाउने गरेका छन् ।

उनीहरुलाई अरुको आश गर्नु भन्दा पनि आफै सक्षम बनाउन योजना ल्याउनुपर्नेमा राज्य चुकेको छ । विपन्न समुदायलाई उत्पादन र आयआर्जनमा जोड्न सके उनीहरु आफै समक्ष हुने समाजशास्त्री राजन श्रेष्ठको भनाइ छ ।

आर्थिक तथा सामाजिक रुपमा पछाडि परेकाहरुलाई प्रत्यक्ष उत्पादनसँग जोड्न सके उनीहरुको नियमित आम्दनी हुने र आर्थिक अवस्था पनि राम्रो हुने भएकाले चिसोमा अरुको भर पर्नु नपर्ने उनको तर्क छ ।

गरिबी निवारणको नाममा वर्षेनी राज्यले अर्बौं रकम खर्च गर्दै आएको छ । विभिन्न एनजीओ, आइएनजीओले गरिबी हटाउनका लागि वर्षौदेखि लगानी गरिरहेका छन् । तर धरातलमा गरिब र गरिबीको अवस्था भने ज्यूँ का त्यूँ छ । गरिबी निवारण गर्न सञ्चालित भनिएका सबै कार्यक्रमहरु उपलब्धि विहीन देखिएका सञ्चारकर्मी अशोक पहाडी बताउछन् ।

गरिबका नाममा टाठाबाठाको रजाइँ अन्त्य नभएसम्म देशमा गरिबी अन्त्य नहुने उनको विचार छ । प्रत्येक वर्ष चिसोयाम आर्थिक रुपले पछि परेका समुदायका लागि संकट बनेर आउँछ । जाडोमा लगाउने न्याना कपडा र ओड्ने ओछ्याउनेको अभावमा उनीहरु निकै कष्टकर जीवन विताउँदै आएका छन् ।

राज्यले गरिबी निवारणको लागि भनेर खर्बौ रकम खर्च गरेपनि गरिबी निवारणमा खासै सुधार हुन सकेको छैन । गरीब समुदायलाई आफ्नो लागि आवश्यक न्यानो कपडाहरु किन्न सक्ने बनाउन पनि राज्य असक्षम भएको जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV