२२ पुष २०७८, बिहीबार

काठमाडौं । कर्मचारी सञ्चय कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि काठमाडौंको सुन्धारास्थित सीटीसी मलको स्वामित्वकर्ता इच्छाराज तामाङ सम्पर्कमा नआएपछि लिलामी प्रक्रियाका लागि मलको मूल्याङ्कन थालेको छ ।

इच्छाराज तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालिको नाममा कर्मचारी सञ्चय कोषबाट सीटीसी मल धितो राखेर ऋण लिएका थिए । कोषले तामाङले लिएको कर्जा रकम भने खुलाएको छैन ।

कोषले चलन चल्तीमा धितोको मूल्य पत्ता लगाउन मूल्याङ्कन थालिएको जनाएको छ । श्रोतका अनुसार कोषको सञ्चालक समितिले स्वतन्त्र विज्ञमार्फत् मूल्याङ्कन गर्ने निर्णय गरेको छ ।

जसको लागि सबै प्रक्रिया पूरा भएको र अब छिट्टै काम सुरु गरिने भएको छ । श्रोतका अनुसार मूल्याङ्कन पूरा भएपछि कानून बमोजिम धितो लिलामीका लागि सूचना जारी गरिनेछ ।

कोषले गत मंसिर ६ गते ऋणी सिभिल स्टेट्स प्रालिका नाममा ऋण भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सूचना निकालेको थियो, भने पुस १० मा उक्त म्याद सकिसकेको छ । सीटीसी मल खरिदका लागि धेरैले इच्छा देखाएका कारण मलको बजार मूल्य निकाल्न लागिएको श्रोतले जनाएको छ ।

कहाँ छन् सीटीसी मलको स्वामित्वकर्ता इच्छाराज तामाङ ?

इच्छाराज तामाङ सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका सल्लाहकार हुन् । दुई हजार बढी बचतकर्ताहरुको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ गते तामाङलाई पक्राउ गरिसकेको छ ।

अहिले उनी थुनामा छन् । उजुरीमा बचतकर्ताहरुको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV