२२ पुष २०७८, बिहीबार

काठमाडौं । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसीद’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायाङ्कनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए ।

निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको लागि तयार भइसकेको बताए । सार्वजनिक फर्स्टलुकमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् ।

वित्तीय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ । यो फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् ।

फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह(निर्मातामा लक्ष्मण बानियाँ छन् । निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् ।

निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डी. गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

फिल्म क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको सम्भावित प्रभावलाई मध्यनजर गरेर छिट्टै नै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेर प्रचार प्रसारको थालनी गर्ने टिमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV