२० पुष २०७८, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगञ्ज । स्व. गोपाल गिरीको स्मृतिमा स्थापना भएको गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वितरणका लागि छनौट भएको नामप्रति बिमती जनाउँदै पर्साका चार पत्रकार सम्बद्ध संगठनले निर्णय बदरको माग गरेको छ ।

प्रेस युनियन पर्सा, प्रेस सेण्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासंघले गरेको निर्णय तत्काल सच्याउन माग गरेको हो ।

पत्रकार महासंघको कार्य समितिमा रहेका सदस्यहरुले विरोध गरिरहँदा समेत बहुमतको दम्भ देखाएर महासंघ जस्तो साझा संस्थालाई प्रेस चौतारीकरण गर्न खाजेको तथा महासंघले निर्माण गरेको विभिन्न समिति तथा उपसमितिहरुमा समेत अल्पमतमा रहेका पत्रकारहरुलाई पाखा लगाउँदै पर्सेली पत्रकारहरुको मानमर्दन गर्न खाजेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका विभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेट्नुपर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन विज्ञप्तीमार्फत् चार संगठनले जोडदार माग गरेको हो । त्यसै गरी पुरस्कार वितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पूरानो निर्णयलाई बदर गरी पुनः नयाँ निर्णय गर्न समेत विज्ञप्ती मार्फत माग गरिएको छ ।

प्रेस यूनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेण्टर पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल तथा राष्ट्रि दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल पत्रकार महासंघ पर्साले विधि पद्धति नअपनाए तथा मागहरुप्रति वेवास्ता गरे कडा प्रतिवादमा उत्रिन चेतावनी समेत दिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले २०७७ र २०७८ सालको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारको लागि प्रेस चौतारीका प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV