२० पुष २०७८, मंगलवार

नयाँदिल्ली । दिल्लीमा मङ्गलबार पनि कोभिड–१९ सङ्क्रमणको बढ्दो तथ्याङ्कले राज्य सरकारलाई चिन्तित पारेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा नयाँ सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८१ पुगेको र यसका कारण सङ्क्रमण दर ८.३७ प्रतिशतमा पुगेको छ ।

यो सात महिनाको अवधिमा सबैभन्दा बढी भएको संघीय मन्त्रालयद्वारा मङ्गलबार जारी तथ्याङ्कमा उल्लेख छ । दिल्लीमा सबैभन्दा बढी सङ्क्रमण दर मे १७ मा ८.४१ प्रतिशतले रेकर्ड गरिएको थियो ।

सोमबार दिल्ली राज्य सरकारले चार हजार ९९ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको र सङ्क्रमण दर ६.४६ प्रतिशत रहेको जनाएको थियो ।

कोरोनाभाइरस सङ्क्रमितहरूको वृद्धिसँगै यस शहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि १४ हजार ८८९ पुगेको छ । यो पछिल्लो सात महिनाको समय अर्थात् मे २७ पछिको सबैभन्दा उच्च हो । मे २७ मा १६ हजार ३७८ व्यक्ति कोभिडबाट सक्रिय सङ्क्रमित थिए ।

दिल्ली स्वास्थ्य विभागको बुलेटिनमा जनाइएअनुसार दिल्लीमा आठ हजार ५९३ सक्रिय सङ्क्रमित सावधानीसाथ घरमै छुट्टै बसेका छन् भने दिल्ली महानगरभरि कूल सङ्क्रमितको सङ्ख्या १४ लाख ६३ हजार ७०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा कूल ६५ हजार ४८७ जनाको परीक्षण गरिएको थियो भने गत २४ घण्टामा एक हजार ५७५ जना निको भएका थिए । दिल्लीमा कोभिडका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको र अहिलेसम्म २५ हजार ११३ जना कोभिड सङ्क्रमित भई ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV