१७ पुष २०७८, शनिबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले ‘तीन तियाँ’ कवि गोष्ठी एवं ‘अमरज्योति साहित्यिक त्रैमासिक’ को ५२ औँ अङ्क लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कस्थित रुफ टप हलमा आज (शुक्रबार) कविता वाचन एवं पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ पूर्वअध्यक्षद्वय कुलप्रसाद पराजुली र पुण्य घिमेरे, नेविप्राका निर्देशकद्वय बेलप्रसाद शर्मा र शिव अधिकारी एवम् आमन्त्रित तीन जना कविहरूले ‘अमरज्योति साहित्यिक त्रैमासिक’ को ५२ औँ अङ्कको संयुक्त रुपमा लोकार्पण गरेका थिए।

कार्यक्रममा वाल्मीकि विध्यापीठका ‘प्राक्शास्त्री प्रशिक्षक’ नवराज लामिछाने तथा नेपाल विद्युत प्राधिकरणका स्रष्टाद्वय रीता खत्री र विष्णुप्रसाद आचार्य ‘अतृप्त’ ले ३/३ थान विविध भावभूमिका जम्मा ९ थान कविता वाचन गरेका थिए ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमालले उपस्थित साहित्य अनुरागीहरूलाई न्यानो स्वागत गर्दै ‘तीन तियाँ’ कवि गोष्ठी आयोजनाको औचित्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा वाल्मीकि विध्यापीठका प्राक्शास्त्री प्रशिक्षक लामिछानेले अलग अलग छन्दमा रचित व्यवहारोपयोगी भावका तीन वटा कविता सुमधुर स्वर लहरीमा वाचन गरेका थिए। कवि रीता खत्रीले समसामयिक विषयवस्तुलाई सम्बोधन गरेर लेखिएका तीनवटा कविता वाचन गरेकी थिइन् भने अर्का कवि एवं अमरज्योति त्रैमासिकका कार्यकारी सम्पादक विष्णुप्रसाद आचार्य ‘अतृप्त’ले छोटा ३ थान कविता प्रस्तुत गरेका थिए।

समाजका अध्यक्ष कृष्णदेव रिमालले कोभिड सङ्क्रमणका कारण केही समय यता भौतिक रूपमा कार्यक्रमहरू सन्चालन हुन नसकेको सन्दर्भमा यो नौलो कार्यक्रममार्फत विद्युतकर्मी साहित्यिक समाज पुनः साहित्यिक गतिविधिमा सक्रिय हुन थालेकोमा खुसी व्यक्त गरे । कार्यक्रम सञ्चालन समाजकी कार्यसमिति सदस्य शारदादेवी भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV