१७ पुष २०७८, शनिबार

चितवन । लस्करै ९० मिटरको दुरीमा ५२० छाता राखिएका छन् । तिनै छाताका कारण देश विदेशका पर्यटक चितवनको भरतपुर नगरपालिकाको वडा नं २२ पटिहानी पुग्ने गरेका छन् ।

राप्ती नदी किनारस्थित यस रमणीय स्थानमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको ‘अम्रेला स्ट्रिट’ सरकारले छनोट गरेका १०० पर्यटकीय गन्तव्यमध्येमा पनि परेकाले यसको गरिमा अझै बढेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड, भरतपुर महानगरपालिकाको रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी रु तीन करोडको लागतमा स्ट्रिट तयार गरिएको हो ।

समुद्रका छेउमा पर्यटकलाई आकर्षण गर्ने गरी विश्वका विभिन्न स्थानमा अम्ब्रेला स्ट्रिट बनाउने प्रचलनलाई अनुकरण गर्दै पटिहानीमा अम्रेला स्ट्रिट तयार गरिएको वडा नं २२ का वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।

यस क्षेत्रको करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको यस स्थानमा छातासँगै भ्युपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन पार्किङ आदि रहेका छन् । अम्ब्रेला स्ट्रिटभित्र पैदलरुपमा पर्यटक घुम्ने र डुल्ने व्यवस्था मिलाइएको छ ।

नयाँ पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ बनाइएको अम्रेला स्ट्रिट विभिन्न समुन्द्री किनारमा पहिलेदेखि नै बनाउने गरिए पनि नेपालमा यो नयाँ प्रयोगका रुपमा विकास भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।

अम्रेला स्ट्रिट आन्तरिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको उल्लेख गर्दै उहाँले पर्यटन बोर्डले पोखरा, चितवन र लुम्बिनीका पर्यटकीयस्थल समेट्दै स्वर्ण त्रिकोणको अवधारणाका साथ यी क्षेत्रको प्रवद्र्धन गर्न लागेको जानकारी दिनुभयो ।

विसं २०७६ देखि सञ्चालनमा आएको अम्रेला स्ट्रिट पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्थानीय पर्यटन व्यवसायी एवं सिद्धि विनायक इको रेष्टुरेन्टका सञ्चालक छविराम पौडेलले बताउनुभयो ।

उहाँका अनुसार विशेषतः शनिबार र सार्वजनिक बिदाका दिनमा झण्डै एक हजार ५०० को हाराहारीमा पर्यटक आउने गरेका छन् । अम्रेला स्ट्रिटभित्र पर्यटक लक्षित पूर्वाधार बन्नेक्रम पनि बढिरहेको उल्लेख गर्दै उहाँले परिसरभित्र विभिन्न छ वटा रेष्टुरेन्ट सञ्चालनमा आएको बताउनुभयो ।

यहाँ आएका पर्यटक थारु संस्कृतिमा खाने चिचर, घोँगीलगायत परिकारको स्वाद लिनुका साथै नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज, राप्ती नदीको किनारका साथै विभिन्न वन्यजन्तुको अवलोकनमा लोभिने गरेका छन् ।

अम्म्रेला स्ट्रिटले यस क्षेत्रमा सामान्य व्यापार गर्नेलाई पनि फाइदा पुगेको सो क्षेत्रमा चटपटको व्यापार गर्दै आउनुभएकी मैयाँ घर्तीले बताउनुभयो ।

प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्यभागमा रहेका कारण पनि यो क्षेत्र राम्रै पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन सक्ने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV