१६ पुष २०७८, शुक्रबार
  • आविष्कार कला

कवितामार्फत कविको परिचय दिइएका प्रकाश कोइराला अहिले उपन्यासमार्फत नेपाली साहित्यमा आएका छन् । उनको प्रथम उपन्यास ‘प्रपञ्च’ले बजारमा एकखालको गति लिइरहेको छ । ‘प्रपञ्च’ उपन्यासमा सबै सामाजिक जीवनका यात्रा र घुम्तीहरूको ‘प्रपञ्च’छ । उपन्यासभित्रको भू–गोल रामेछाप हुँदै बर्दिबासमा झरेपनि उपन्यासका घटना परिघटनाहरू मेचीकालीभित्र जहाँतहीँ पाइन्छ ।

पीडाको दैनिकीबाट उपन्यास सुरु भएको छ । उपन्यासमा अध्यात्म र दर्शन दिन खोजिएको छ । खहरे बन्दै अघि बढेको प्रपञ्चका कथावस्तुले कोशी जस्तै नदीको रूप लिएको छ । औँसीले पारेको असर बडो डरलाग्दो तवरले आएको छ । औँसीको अन्धकार र औँसीमा जन्मिएका जनहरूको सम्बन्ध के हो अनुसन्धान गर्न चाहनेलाई नयाँ क्षेत्र ‘प्रपञ्च’ले दिएको छ । निर्णय कुन समयमा गर्ने हरेक समयमा उचित निर्णय गर्न सकिएन भने व्यर्थ हुन्छ भन्ने सन्देश उपन्यासमा छ ।

उपन्यास आधुनिक युगको हो । मानव समाजमा पीडा र रक्सीको सम्बन्ध कहिलेदेखि आयो सामाजिक अनुसन्धानको अर्को नयाँ क्षेत्र उपन्यासमा आएको छ । उपन्यासमा दश वर्ष चलेको द्धन्द्ध र मधेश आन्दोलन राम्रोसँग आएको छ । विद्यालय र विद्यार्थी द्वन्द्वमा कसरी प्रयोग भए उपन्यासले इतिहास र राजनैतिक घटनाक्रमको पनि काम गरेको छ । द्वन्द्वले परिवारमा पारेको असर वास्तविक रुपमा आएको छ । बदलाको भावना लिन खोज्दा कसरी बिग्रन्छ अवस्था बदला रिसले लिने कि विवेकले प्रपञ्चले राम्रो सन्देश दिएको छ । मनको पीडा कहाँ कसरी पोख्ने उपन्यासले राम्रोसँग सिकाएको छ ।

सामाजिक उपन्यास समाजका हरेक गतिविधिसँग नजिकको सम्बन्ध राख्दै अघि बढेको छ । नेपाली समाजको दुःख कोशी बनेर उर्लिएको छ । उपन्यासमा कथाहरू कोशीका सहायक नदीहरू झै एकैसाथ बगेका छन् । नदीहरू एकैसाथ बग्नु राम्रो तर कथाहरू एकैसाथ बग्दा कथामा पौडिन गाह्रो हुन सक्छ ।

परिवारका सदस्यहरूबीचको सम्बन्ध उपन्यासमा नयाँ तरिकाले आएको छ । नेपाली समाजका लोककथा भन्ने प्रचलन रहि आएको पाइन्छ । उपन्यासका पात्रले परिवारका सदस्यहरू बसेर प्रेमकथा भने होलान् त यो सोचनीय विषय छ । अर्कोतिर छोराछोरीलाई प्रेमकथा पनि सुनाउन पर्छ भनेर प्रपञ्च पनि गरिएको छ, उपन्यासमा ।

‘प्रपञ्च’ मा ग्रामीण परिवेश राम्रोसँग आएको छ । गाउँमा चौपारीमा भेला भएका जनसमुदाय जत्तिकै पात्रहरू छन् उपन्यासमा पनि । सबै पात्रको भूमिका राम्रो छ । गाउँले पारा आँउछन् जन्मेदेखि चिनजान भए झै उपन्यासमा परिचय दिदैनन् । छापामार शैलीमा आँउछन् यसको ‘प्रपञ्च’ मिलाएर खुला रुपमा परिचय सहित पात्रहरू आएको भए अझ सुनमा सुगन्ध हुने थियो ।

उमेर अनुसारका प्रेमपत्रहरु कोशीझैँ उर्लिएका मात्र छैनन् सगरमाथाझैँ उठेका पनि छन् । दुई आत्माको मिलनमा कस्तो प्रेमपत्र लेख्ने कसरी लेख्ने एउटा सिकाई पनि छ । सामाजिक चालचलन पनि टपक्क टिपिएको छ । जस्तै ः छोराछोरीको बिहे गर्नु अभिभावकको ठूलो जिम्मेवारी जुन नेपाली समाजमा छ त्यो वास्तविकता रूप राम्रोसँग आएको छ ।

विवाहका प्रसंग पनि उपन्यासमा सामाजिक यथार्थ र नयाँ चेतनासहित आएको छ । विद्यालयमा अनुतीर्ण भएपछि पहिलो प्राथमिकता विवाह रहेको नेपाली समाजको यथारुप आएको छ । बिहे गर्दा आफ्नो हैसियतअनुसारको खोज्नुपर्छ भन्ने सन्देश पनि प्रमाणसहित छ । जीवनभर सुःख दुःख बुझ्न गरिने विवाहमा हैसियत नमिल्दा दुःख मात्र पाइन्छ भन्ने ठूलो सन्देश छ, उपन्यासमा ।

अपराधीलाई कारबाहीका निम्ति समाजका युवाहरू मिलेझैँ देशका लागि युवाहरू मिल्नुपर्छ भन्ने सन्देश बोकेको उपन्यास आएको छ । अपराधी श्रीमान नै किन नहोस् त्यस्ताले कारबाही भोग्नुपर्छ भन्ने फूलदेवीको नारी साहसबाट नेपाली नारीहरूले सिक्न सक्ने प्रसस्त ज्ञानहरु उपन्यासमा छन् ।

किशोरवस्थाका भाइ बहिनीलाई पनि मायामा कति डुब्ने ज्ञानका कुरा उपन्यासमा छ । मायामा हरेश खाँदैमा जीवनमा हरेश खाने होइन, जीवन त अनगिन्ति घुम्ति पार गर्दै अगाडी बढ्ने यात्रा हो । यो सिकाई अत्यन्तै उपयोगी रुपमा आएको छ । गीत मनोरञ्जन र वास्तविकता उपन्यासमा प्रपञ्चको रुपमा आएको छ । गीतको भाका नाच्दा सारा गाउँले ताली बजाउछ त्यही गीतको भाकाअनुसार व्यवहार गरे समाजले सजायको फैसला सुनाउछ । यो सामाजिक परिवेशका बारेमा उपन्यासले महत्वपूर्ण सवाल उठाएको छ ।

गाउँमा राजनीतिको मियो शिक्षकको राजनैतिक भूमिका सामाजिक रुपमा आएको छ । यो प्रसंग कोशी बनेर ‘प्रपञ्च’को हिसाबले आउन पथ्र्यो । समय समयमा आउने प्राकृतिक विपत्तिले समाजमा पारेको उथलपुथल समाजको वास्तविकताभन्दा भिन्न छैन । सबै पीडा आएका छन् । वि.स १९९० र २०४५ सालको भुकम्पको पीडा खुल्न सकेको छैन । समाजमा नयाँ विचार र सामाजिक काममा नविनता ल्याउदा आफ्नो पार्टीमा प्रवेश गराउने सदैबको चलन हिजो पञ्चायतमा पनि थियो कथामा राजनैतिक इतिहास पनि आएको छ ।

रामेछाप बजारबाट किन सर्याे मन्थली सदरमुकाम एउटा कारण मात्र कथाले बोलेको छ । धेरै कारण कुन ‘प्रपञ्च’मा परे राजनैतिक प्रपञ्चको खिचातानी अलिक आएको छैन । गर्भ पीडा र आमाहरुको मन कथामा सुनबुट्टा भरेर आएको छ । पछि सन्तानले सम्मान गर्लान् भन्ने आसमा प्रसव पीडा भुल्ने आमाहरुको कथा गाउँ गाउँ पुगेर आएको छ । समाजमा इज्जत जान सात गाउँ थर्काउने गरी बाजा बजाउन पर्दैन । जब सन्तानले आफू खुशी बिहे गर्छन अनि बाबु आमाको मन दुख्छ , सात गाउँ होइन अरु सात गाउँ थर्किएको भान हुन्छ । अध्याय पैसठ्ठी धेरै भएपनि कथाहरू क्रमश बेसी झर्ने र शिखर उक्लने गरेका छन् । पात्रहरूको हकमा भने यो नियम लागू भएको पाइँदैन । धेरै पात्रहरू र पात्रहरुका उस्तै उस्तै नामले उपन्यासमा केही जटिलता थप्ने प्रपञ्च गरेको छ, जस्तै : पुण्यप्रसाद, पुष्पप्रसाद ।

पुरुष र महिलाको होइन प्रत्येक मानव जीवनको अनेकौं प्रपञ्चले उपन्यास बनेको छ । मानव जीवनले खाने अनैकौ ठक्कर र हण्डर नै प्रपञ्चको विषयवस्तु हो । मानव जीवनका दुःख बुझ्नका लागि उपन्यास नपढी सुखै छैन । आजका पुस्ताका लागि उपन्यासले संघर्ष गरेर अगाडी बढ्नका लागि प्रशस्त ज्ञान दिएको छ । मानव जीवनमा हिरा भेट्न सजिलो छैन तर असम्भव पनि छैन प्रपञ्चले यही भन्छ जसरी पुण्यप्रसादले नीलिमा भेटाए ।

बि.एन. पुस्तक संसार प्रा.लि.ले बजारमा ल्याएको उपन्यासमा पृष्ठ संख्या २५८ छ भने यसको मुल्य रु ३५० कायम गरिएको छ । आगामी दिनमा आख्यानकार र प्रकाशक यस प्रकारको कार्यमा अगाडी बढ्दै सफलता हासिल गर्नुहोला शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV