१६ पुष २०७८, शुक्रबार
  • बाल बिक्रम कार्की

रौतहट । शुक्रबार रौतहटको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुरमा सिके राउतको जनमत पार्टीका आन्दोदनकारी र प्रहरीबीच दिनभरजसो लुकामारी चलिरह्यो ।

सो पार्टीले घोषणा गरेको अनिश्चितकालीन हाइवे बन्द सफल पार्न आएका पार्टीका कार्यकर्ताले चन्द्रनिगाहपुरस्थित पूर्व पश्चिम राजमार्ग बन्द गर्ने प्रयास गरेका थिए । राजमार्ग बन्द गर्न आएका आन्दोलनकारीहरुलाई प्रहरीले धकेलेर राजमार्ग बाहिर पुर्याउँथे तर फेरि उनीहरु फर्किएर राजमार्ग बन्द गर्न आइपुग्थे ।

यसरी दौडिएर बन्द गर्न आएकाहरुलाई प्रहरीले फेरि धकेलेर राजमार्गबाट हटाइदिन्थे । यसै क्रममा एक पाका उमेरका आन्दोलनकारीले राजमार्गमै सुतेर बन्द गर्ने प्रयास गरे । उनी चर्का नारा लगाउँदै राजमार्गको बीचमा आए अनि राजमार्गकाे बीच सडकमै सुतिदिए । उनी जसरी भएपनि राजमार्ग बन्द गर्ने अडानका साथ राजमार्गमा सुतिरहे । पछि उनलाई साथ दिन अरु केही कार्यकर्ता पनि आए ।

केहीबेर उनीहरुले राजमार्गकै बीचमै बसेर नाराबाजी गरे । तर, फेरि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएर राजमार्ग खाली गरायो । आन्दोलनको क्रममा उनीहरुले प्रहरी विरुद्ध चर्का नाराबाजी पनि गरेका थिए । सोही क्रममा प्रहरी ९ जना आन्दोलकारीहरुलाई नियन्त्रणमा लिएर साँझ रिहा गरेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

आन्दोलनकारीहरुलाई प्रहरीले राजमार्गमा ढिम्किन नदिएपछि उनीहरुले राजमार्ग छेउमा कोणसभा गर्दै आफुहरुको माग जायज भएकाले राज्यले यसलाई जसरी पनि पुरा गर्नुपर्ने माग गरे । उनीहरुले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्था गर्नुपर्ने, सिचाइको व्यवस्था र निशुल्क सिचाइ विद्युत दिनुपर्ने, हावाहुरी र वर्षले भएको बालीनाली क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए ।

कृषि प्रधान देशमा कृषक सँधै मारमा परिरहेको भन्दै उनीहरुले कृषि उपजको उचित सर्मथन मूल्य निर्धारण हुनुपर्ने , किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बाली बीमाको शुनिश्चिता हुनुपर्ने, प्रहरीद्धारा गिरफ्तार गरिएका आन्दोलनकारीहरुलाई तत्काल रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । आफुहरुको माग पुरा नहुन्जेल आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV