१६ पुष २०७८, शुक्रबार

चितवन । कवि एवं साहित्यकार ईश्वर कँडेलले अफ्नो नयाँ कवितासंग्रह ‘द सन अन द स्यान्ड’ को कभर सार्वजनिक गरेका छन् । अंग्रेजी भाषाका नवीनतम कविताहरुको संग्रह रहेको उक्त पुस्तक नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा बजारमा ल्याउन लागेको उनले जानकारी दिए ।

नयाँ वर्षको जनवरी दोस्रो हप्ताबाट पुस्तक बजारमा आइसक्ने कँडेलले बताए । उनका अनुसार कवितासंग्रह भारतको अम्बर पब्लिकेसनले बजारमा ल्याउन लागेको हो । संग्रहमा जम्मा ४० वटा कविता रहेका छन् । साथै कविको एक अन्तर्वार्ता समेत समावेश गरिएको छ । अन्तर्वार्ता चाहिँ अंग्रेजी साहित्यका प्राध्यापक एवं समालोचक उदय अधिकारीले लिएका हुन् ।

प्रस्तुत कवितासंग्रह उनको तेस्रो कृति हो । प्रायः अंग्रेजी माध्यमबाटै आफ्ना सृजना पस्किने कवि कँडेलका यसअघि ‘बाया’ अंग्रेजी कवितासंग्रह र ‘इकोज’ अंग्रेजी उपन्यास प्रकाशित छन् ।

हाल ब्रिटिस काउन्सिलमा आबद्ध कवि कँडेलले विगतमा प्राध्यापन समेत गरेका थिए । उनी अहिले काउन्सिल अन्तरगत शिक्षकहरुलाई तालिम तथा प्रशिक्षण दिँदै आएका छन् । कला, साहित्य र फोटोग्राफीका सौखिन कँडेल हाल कलासम्बन्धी संस्था ‘बीड’को प्रमुखसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV