१४ पुष २०७८, बुधबार
  • दान बहादुर बुढा,

मुगु । मुगुलगायतका हिमाली जिल्लाहरुमा अविरल वर्षासँगै बाक्लो हिमपात भएको छ । हिमपातपछि मुगु जिल्लाको एक मात्र ताल्चा विमानस्थल र नाग्म गमगढी सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगैको हिमपातपछि यहाँ अत्यधिक चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेपनि बाली सप्रिने आशामा किसानहरु भने हर्षित भएका छन् ।

मुगुको मुगमकार्मारोङ गाउँपालिकामा रहेका मुगु, डोल्फु, किम, मह, दाउरा, सेरोक बस्ती, सोरु गाँउपालिकाको सोरुकोट, धैन, कालै, खनार्या, रुमलगायतका बस्तीहरु सेताम्मे भएका छन् ।

त्यस्तै, खत्याड गाउँपालिकाको खमाले, सेरी, श्रीकोट, लुमेरा तथा छायानाथ रारा नगरपालिकाको बाम, थार्प, पिना ताल्चा, तुुम, रोवा, सोवालगायतका बस्तीहरुमा ३ पिटसम्म हिउँ परेको छ ।

गत वर्षको तुलनामा यो वर्ष चाँडो हिमपात भएको स्थानीयहरुको भनाइ छ । छायानाथ रारा नगरपालिका–१ छत्याडकी बस्र्ते कणसिला मल्लले समयमै पानीसँगै हिउँ परेकोले जौँ, गहँु, उवालगायतका हिउँदे बालीहरु सप्रिने भन्दै खुसी ब्यक्त गरिन् ।

भारी हिमपातका कारण यहाँका बृद्ध–बृद्धा, बालबालिकाहरु तथा पशु चौपायाको चरणमा समस्या भएको छ । अत्यधिक चिसो बढेको कारण यहाँको सामुदायिक र निजी विद्यालयहरु बन्द गरिएका छन् । साथै चिसोका कारण सरकारी कार्यालयहरुमा समेत सेवा लिने र दिनेहरुलाई समस्या भएको स्थानीय नेत्र बहादुर शाहीले बताए ।

जिल्लाको एक मात्र ताल्चा विमानस्थल अवरुद्ध भएको कारण सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सयौं यात्रुहरु अलपत्र परेका छन् । अर्कोतर्फ नाग्म गमगढी सडकमा चल्ने मालवाहक गाडी, यात्रुवाहक बस र जीपसमेत बन्द भएका छन् ।

भारी हिमपातका कारण कुनै पनि धनजनको क्षती नभएता पनि अत्यधिक चिसोका कारण जनजीवन भने कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV