१३ पुष २०७८, मंगलवार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके दोस्रो कार्यकालका लागि नेपाल आइपुगेका छन् । पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाल आएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पुबुदुले अहिलेको क्रिकेटको अवस्था निकै फरक रहेको र यसअघि २०११ मा आउँने बेला भन्दा अहिले धेरै चुनौती रहेको बताए । उनले जस्तोसुकै चूनौतीको सामना गर्न पनि आफू तयार रहेको बताए ।

खुल्ला आवेदनबाट छनोट भएका पुबुदुले फेरि नेपाल आउँदा निकै खुसी भएको पनि सुनाए । पहिलो जस्तै यसपटक पनि नेपाली क्रिकेट अर्को स्तरमा पुर्याउन चाहेको भन्दै उनले त्यही अनुसार नेपालले आफूलाई परिवर्तन गुर्नपर्ने धारणा राखे ।

क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो । यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको थियो । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV