१२ पुष २०७८, सोमबार
  • असीम सागर

यो देशको आदिम सभ्यता बोकेर
युगौंदेखि तेरो सुक्खा आँत भिजाउँदै आएको
म कालीगण्डकी हुँ
म जहाँ बग्छु, त्यही मेरो देश हो

ए कवि !
यो देशका हजारौं कविले बनाए
मेरो मौनतालाई आफ्ना कवितामा प्रतीक
मेरो बाटोलाई आफ्ना कवितामा बिम्ब
मेरो अस्तित्वलाई आफ्ना कवितामा विचार
मेरो सभ्यतालाई आफ्ना कवितामा भाव
र, पहाडबाट खसेको मेरो आकृतिलाई
भौगोलिक स्वरुप र सौन्दर्यलाई
‘कुनै सुन्दर युवकले भिरेको गलबन्दी’ भनेर लेखे
‘भुइँमा लत्रिएको कुनै सुन्दर युवतीको पछ्यौरा’ भनेर लेखे
तर लेखेनन् मेरो अस्वित्वमाथिको प्रहार

के म कालीगण्डकी
तिम्रो कविताको बिम्ब र प्रतीक मात्र हुँ ?
के मेरो सुस्केरा फगत कुनै जँड्याहाको हल्ला हो ?

खोइ मेरो मौनताबाट तिमीहरु मौन बस्न सिकेको ?
खोइ मेरो शिरको हिमालबाट तिमीहरू हाँस्न सिकेको ?
खोइ पिँधमा छर्लंग देखिने ढुंगाझैं सङ्लो हुन जानेको ?
खोइ मेरो गति देखेर अविश्राम यात्रा गरेको ?
किन लेखेनौ म अपहरण हुनुअघि मेरो कविता ?
मौनता मेरो स्वभाव हो, सहानुभूति होइन

आफै उज्यालो पोखेर आकाशबाट
मेरो निश्छल देहमा ऐना हेर्छन् घाम, जून र ताराहरु
मेरो सुस्केरालाई संगीत मानेर गाउँछन्, नाच्छन् चराहरु
मेरै कोखको जल पिएर बाँचेका भुसुना मान्छेहरु
मेरो गर्तबाट गिटी बालुवाका हाडमासु झिकेर
मेरै बाटो छेक्नेगरी घर, मन्दिर र मस्जिद बनाउँछन्
म कहाँ हिँडूँ ?
कुन बाटो भएर पुगूँ म समुद्र ?
बगाउनु मेरो बाध्यता हो, रहर होइन

आफ्नो काव्यशिल्पद्वारा मेरो सौन्दर्य लेख्ने
संसारका प्रत्येक जीवजन्तु र सृष्टिको भाषा बुझ्ने
ए मेरो प्रिय कवि !
क्रोधले म सुनामी हुनुअघि
र निर्धाहरु सुकुम्बासी बन्नुअघि
मेरो सौन्दर्य होइन मभित्रको ज्वाला लेख
मेरो मौनता होइन म दुखेको गीत लेख
मेरो सुस्केरा होइन म रोएको साँझ लेख
मेरो सभ्यता होइन समुद्र पुग्ने मेरो सपना लेख
र, सुनाऊ मलाई चिथोर्ने बहुराष्ट्रिय कम्पनीका टाईहरुलाई
विद्रोह गर्न मलाई पनि आउँछ ।

– उही तिम्रो कालीगण्डकी
***

अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङ्खला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृङ्खलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ राख्ने गरेका छाैँ ।

अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV