११ पुष २०७८, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुकमा माओवादी विद्रोह र मधेश विद्रोह नभएको भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन नसक्ने बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा सम्बोधन गर्दै मुलुकमा माओवादी र मधेश विद्रोह नभएको भए निरंकुशता कायमै रहन सक्ने अध्यक्ष यादवले बताए ।

उनले भने, ‘माओवादी विद्रोह र मधेश विद्रोह नभएको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र पनि स्थापना हुने थिएन । निरंकुशताको अन्त्य हुने थिएन । यसैले अब प्रचण्डको कुशल नेतृत्वमा पार्टीले गति लिओस् ।’

कम्युनिष्ट नेता प्रधानमन्त्री भए पनि बेपत्ता परिवारले न्याय नपाएको भन्दै उनीहरुले न्याय पाउनुपर्ने माग राख्दै वर्ग र वर्ण विभेदको अन्त्य हुनुपर्ने उनले धारणा व्यक्त गरे ।

यी यावत् समस्याहरुको समाधान नभएमा देश विकास नहुने अध्यक्ष यादवको भनाइ छ । पहिचानको मुद्धा उठाउदै गर्दा संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महान उपलब्धिहरु धरापमा पर्न लागेको आशंका उत्पन्न हुन लागेको पनि उनले प्रष्ट पारे ।

विगतका प्रधानमन्त्रीहरुले गरेको गल्तीहरुलाई गनेर मात्र समस्या नहुने बताउँदै गल्ती सच्याएर जनताले अनुभूति गर्ने काम गर्नुपर्ने पनि अध्यक्ष यादवले बताएका छन् । संविधान दिवसका दिन मैनबत्ती बाल्नेहरुलाई मात्र नभई कालो दिवस मनाउनेहरुलाई समावेश गरेर लैजानुपर्ने उनले प्रष्ट पारे ।

प्रतिपक्ष दल नेकपा एमालेले लगातार सांसद विरोध गर्दै आएको त्यसले कुनै प्राप्ति नगर्ने पनि उनले स्पष्ट पारेका छन् । ‘संसदलाई अवरुद्ध गरेर केही प्राप्ति हुँदैन । माधवजी संसदमा हुनुहुन्छ भनेर कामरेडहरु भन्नुहुन्छ । तर, लाल झण्डा सबैको आआफ्नो हातमा छ,’ उनले भने ।

यसैगरी अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको पनि पुनः बताएका छन् । गरिब, घरबारविहीन, उत्पीडित समुदायको रोजीरोटीदेखि नयाँ समाजको विकास गर्न सकिने उनले बताए ।

तर, यदि फेरि संघीय, लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पारे मुलुक फेरि पछि धकेलिने पनि उनले बताएका छन् । साथै, संविधान संशोधन गरेर अघि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV