१० पुष २०७८, शनिबार
  • हरिशंकर शर्मा

वीरगन्ज । तराईमा विगत एक हप्तादेखि बढेको शितलहरसँगै बाक्लो हुस्सुका कारण दलित परिवारहरु बिचल्लीमा परेका छन् । पर्सा जिल्ला लगायत वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेका गरिब, निमुखा दलित परिवारका सदस्यहरु अहिले चिसोको कारण प्रभावित बनेका छन् ।

वीरगन्जको घण्टाघर स्थित छेउमै रहेको रेल्वे संस्थानको जग्गा छेउमा फुसको छाप्रो तथा त्रिपालको छानो बनाई आफ्नो जीविकोपार्जन गर्दै आएका दलित परिवारहरु चिसोले प्रभावित भएको बताएका छन् ।

दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण सानासाना बालबालिका तथा वृद्धवृद्धाहरु बढि प्रभावित भएको उनीहरुको भनाई छ । चिसो बढेसँगै लुगा कपडाको अभावको कारण आगोको भरमै दिनचर्या विताई रहेका छन् भने रातिको समयमा सुत्ने बेलामा परालले बनाएको चटाईको भरमा रात विताउने गरेको उनीहरुको भनाई छ ।

रातिको समयमा बाक्लो हुस्सुसँगै शितलहरी पर्ने गरेको कारण फुसको छाप्रो एवं त्रिपालले बनाएको छाप्रोबाट शितलहरीको पानी ओछ्यानसम्म आउने गरेको गुनासो पोखे । शितलहरीले गर्दा साना साना बालबालिकाहरुको हात खुट्टा काम्ने गरेकोले बाहिर निस्केर दैनिक ज्यालादारीमा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ ।

चिसोको समयमा एक त दिन सानो हुने गरेको त्यसमा पनि ११ बजेभन्दा अघि घरबाट निस्कने सक्ने अवस्था नरहेको कारण पुरा समयमा काम पनि गर्न नसकेको उनीहरुको भनाई छ । चिसोले खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने गरिब, मजदुरहरु प्रभावित हुने गरेका छन् । विहानदेखि साँझसम्म काम गरेर साँझ छाकटार्ने गरिब, दलित परिवारका सदस्यहरु अहिले दैनिक रुपमा काममा पनि जान नसकेको बताउँछन् ।

यसो त यी उदाहारणका पात्र मात्रै हुन् । पर्सा जिल्लाको ग्रामीण भेगमा रहेको अधिकाँश गरिब, दलित परिवारहरु चिसोले प्रभावित छन् । प्रत्येक वर्ष चिसोबाट बच्नको लागि जिल्ला प्रशासन कार्यालय मातहत रहेको दैविक प्रकोप उद्दार समितिले विभिन्न संघ सँस्थाहरुको सहयोगमा गरिब, असहाय परिवारलाई न्यानो कपडा वितरण गर्ने गरेको छ तर यस वर्ष हालसम्म त्यस्तो कुनै किसिमको कामहरु हुन सकेको छैन ।

महानगरपालिकाले पनि चिसोबाट बच्नको लागि दाउराहरु वितरण गर्ने गरेको छ तर यस वर्ष पुसको दोश्रो सातासम्म दिउँसो तिर घाम लाग्ने गरेको कारण यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

तराईमा वर्षेनी शितलहरीका कारण दर्जनौं व्यक्ति ज्यान गुमाउने गरेका छन् । चिसोबाट प्रभावित भई सर्वसाधारणहरु ज्यान गुमाउन थालेपछि सम्बन्धित निकायको यस तर्फ ध्यान पुग्ने गरेको छ तर यस्तो विपद् हुनु अगावै कुनै किसिमको तयारी गर्ने गरेको छैन । तराईमा चिसोसँगै बाक्लो हुस्सु सहित शितलहरी परि रहेको विगत दुई साता भन्दा बढि वित्न लाग्यो तर हालसम्म कुनै सम्बन्धित निकाय एवं एन.जि.ओ., आई.एन.जि.ओ.हरुले राहत वितरण गरेको छैन ।

अहिलेको अवस्थामा यी दलित परिवारका साना साना बालबालिका तथा अभिभावकहरुको जिउने आधार आगो मात्रै छ । यिनीहरु २ देखि ३ वटा कपडामा आफ्नो दिनचर्या विताई रहेका छन् । बालबालिकाहरुको जिउमा कपडा छ भने खुट्टामा कपडा छैन । दिन रात बालेको घुर (आगो) तापी आफ्नो जीवन बिताइरहेका छन् । एक छाक खानाको व्यवस्था भए अर्को छाक खानाको चिन्तामा बस्ने यि दलित परिवारहरुलाई राहतको बढि आवश्यक्ता छ ।

टुटेको फुसको छाप्रोको घर तथा त्रिपालको छानामुनी बसी विभिन्न ठाउँमा फालिएको फोहरहरुलाई संकलन गरि आगो बाली ताप्दै जीविकोपार्जन गर्दै आएका यस्ता परिवारलाई सम्बन्धित निकायले राहत उपलब्ध गराए हदसम्म जिविकोपार्जनमा सहजता हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV