१० पुष २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प गरेको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

त्यस्तै बैठकले राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय गरेको छ ।

त्यस्तै निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरिएको थापाले जानकारी दिए ।

बैठकले महाधिवेशनलाई सफल पार्न भूमिका खेल्न सबैप्रति धन्यवाद व्यक्त गरिएको उनले बताए । महामन्त्री थापाले पार्टीलाई विधानसम्मत् ढंङ्गले सञ्चालन गर्न सम्पूर्ण प्रयास गर्ने बताए ।

महामन्त्री थापाले शनिबारदेखि औपचारिक रूपमा कार्यारम्भ भएको बताए । उनले महाधिवेशनबाट देशभरि देखिएको उत्साहलाई आगामी निर्वाचनमा जनमतमा बदल्ने चूनौती रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV