१० पुष २०७८, शनिबार

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका एजिएम महेश स्वारको अध्यक्षतामा गठन भएको नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) औपचारिक रुपमा सञ्चालनमा आएको छ । विहीबार (हिजो) पुष ८ गतेबाट महेश स्वारको अध्यक्षतामा गठन भएको ‘एनएमए’ औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

विहीबार काठमाडौंको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा एनएमएमा स्वारसहित नौ जनाको कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको महासचिवमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. गोपाल थापा चयन भएका छन् ।

त्यस्तै सचिवमा सुशिल अवाले, कोषाध्यक्षमा पुनम सिंह तथा सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, सिर्जना जोशी महर्जन, सत्येन्द्र उप्रेती र सुरेन्द्र थापा चयन भएका छन् ।
यस्तै एनएमएले चार्टर मार्केटर प्रा.डा.तुलसी धरेललाई संघको मानार्थ संस्थापक सदस्यको दर्जा प्रदान गरेको छ । उनी क्यानेडियन मार्केटिङ एसोसिएसनका ब्रान्ड काउन्सिलका अध्यक्ष, सेन्टेनिअल कलेजका गभर्नर र क्यानडामा शीर्ष २५ आप्रवासी अवार्ड विजेता पनि हुन् ।

गैर–नाफामूलक संस्थाको रुपमा दर्ता गरिएको एनएमएमा मार्केटिङ व्यवसायी र प्राज्ञिक सदस्यहरू सम्मिलित ६५ जना संस्थापक सदस्यहरु रहेका छन् ।

नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) के हो ?

नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) एक गैर–मुनाफा संस्था हो । उत्कृष्ट कार्य गर्न मुलुकभर रहेका बजारीकरण पेशेवरहरुको एउटै आवाज सिर्जना गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

एनएमएको औपचारिक लन्च कार्यक्रममा यसका अन्तरिम बोर्डका ४–सदस्यहरुमा कान्तिपुर मिडिया ग्रुपका महेश्वरलाई अध्यक्ष, त्रि.वि.का सह–प्राध्यापक डा. गोपाल थापालाई महासचिव, सह–प्राध्यापक सुशिल अवालेलाई सचिव र गोल्छा ग्रुपका मार्केटिङ, पुनम सिंहलाई कोषाध्यक्षको रुपमा घोषणा गरिएको थियो ।

त्यस्तै बोर्डका अन्य सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, श्रृजना जोशी महर्जन, सत्यन्द्र उप्रेति र सुरेन्द्र थापा रहेका छन् । बजारीकरण पेशेवरहरुलाई उनीहरुको कार्यप्रति सहयोग गर्न उनीहरुको व्यक्तिगत र पेशागत जीवन उत्तम बनाउन र नैतिक मुद्दा र सामान्य बजारीकरण कार्यहरु समावेश गर्न प्रवद्र्धन गर्नको लागि एनएमएले शिक्षामा बढी जोड दिने लक्ष्य राखेको छ ।

रञ्जित आचार्यद्वारा ‘लेट्स ब्राण्ड नेपाल’को घोषणा

कार्यक्रमको सोही अवसरमा संस्थापक सदस्यसमेत रहेका प्रिज्मा एडभरटाईजिङका अध्यक्ष रञ्जित आचार्यले ‘लेट्स ब्राण्ड नेपाल’नामक आफ्नो पहिलो पहलको घोषणा गरेका छन् ।

बिश्वसामु नेपालको पहिचान अग्लो सगरमाथा, बुद्ध जन्मेको, वीर गोर्खाली भएको देशको रुपमा भएतापनि अब अन्य थुप्रै कुराहरु बिश्वसामु चिनाउनुपर्ने र त्यसकै लागि ‘लेट्स ब्राण्ड नेपाल’को सुरुवात भएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV