१० पुष २०७८, शनिबार

बागलुङ । ‘हेरहेर तिम्रा पुर्खाको सभ्यता कहाँबाट सुरु भयो
बुझबुझ तिमी यहाँसम्म आइपुगेको कुन–कुन नदी तर्दै हो ?’

कवि साम्ब ढकालले ‘नदी भञ्जकहरूका नाममा’ कवितामार्फत यो प्रश्न गर्नुभएको हो । उहाँ सोध्नुहुन्छ,

नदीमाथि हुर्केको नदी सभ्यता वेमाख पार्दै
आज नदी भञ्जकहरुले विजयोत्सव मनाइरहेछन्

नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न
के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौँ र ?

नदीमाथि मानवजातिले निम्ताइरहेको सङ्कटको सजीव वर्णनका साथै दोहनचक्र मच्चाउनेहरुका निम्ति साबधान गराएको यो कविता हेटौँडाका कवि ढकालले ‘नदी सप्तक’ कविता शृङ्खलाका लागि रच्नुभएको हो । ‘कालीगण्डकी बचाऔँ अभियान’ले गत असोज २ गतेदेखि आरम्भ गरेको त्यस शृङ्खलाको यो ५०औँ कविता हो । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘कालीगण्डकी’ कविताजस्तै ‘नदी सप्तक’ शृङ्खला तय भएको थियो ।

त्यसयता देशका नामुद कविका नदी पक्षधर कविताका बलमा ‘नदी सप्तक’ अघि बढिरहेको छ । त्यसकै पछिल्लो अनुक्रम हो, कवि ढकालको ‘नदी भञ्जकहरुका नाममा…।’ हिमालय क्षेत्रको पवित्र र महान् नदी कालीगण्डकी संरक्षणका लागि सङ्घर्षरत अभियानले सिर्जनामार्फत रचनात्मक दबाब बढाउन ‘नदी सप्तक’ कविता शृङ्खला चलाएको हो । अभियानले नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रूपमा अनलाइन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरूपमा सम्प्रेषण गरिरहेको छ । कालीगण्डकीको वैभव र महिमादेखि नदीले भोगिरहेको सङ्कट र बेदना काव्यमा मुखरित भइरहेको अभियानकर्मी आरके अदिप्त गिरी बताउनुहुन्छ । कालीगण्डकी संरक्षणमा देशभरबाट कवि तथा लेखकहरूले एक्येबद्धता जनाइरहेको उहाँको भनाइ छ ।

उक्त शृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश हुनेछन् । अभियानले खुलारूपमा कविता आह्वान गरेको छ । प्राप्त कविता डिजिटल माध्यमको सहारामा जनस्तरमा प्रसार भइरहेका छन् । कालीगण्डकीमाथि भइरहेको निर्मम दोहन रोक्न अभियानले रचनात्मक तबरले दबाब बढाइरहेको छ । “कालीगण्डकीको दुःख, बेदना भन्न काव्यको सहारा लिनुपरेको हो”, अभियानकर्मी गिरी भन्नुहुन्छ, “यो कुनै सस्तो भावना र आर्दशको मुद्दा होइन, एउटा जागरण हो, आन्दोलन हो, हामी चाहन्छाँै यस किसिमका कविता कहिल्यै लेख्न नपरोस् ।”

काव्यको शक्तिलाई कम नआँक्न र प्राकृतिक सम्पदा संरक्षणको मुद्दामा सबै पक्ष जिम्मेवार बन्न उहाँ आग्रह पनि गर्नुहुन्छ । नदीको मुद्दा सिर्जनशील ढङ्गले मुखरित भइरहेकामा तमाम कवि, लेखक र पत्रकारप्रति अभियानले आभार प्रकट गरेको छ । मुलुकका दिग्गज कवि, लेखकका आवाजलाई राज्ययन्त्र र दोहनकारीसम्म पुर्याउनु ‘नदी सप्तक’ कविता शृङ्खलाको उद्देश्य रहेको अभियानले जनाएको छ । कालीगण्डकी नदीमाथि चलिरहेको विनाशलीलाको विरोधमा हरेक सचेत नागरिक जुर्मुराउनुपर्ने स्थिति आएको अभियानको ठहर छ ।

हरेक खाले परिवर्तनका क्षणमा कवि तथा लेखकका योगदानको गौरवपूर्ण स्थान रहेको जनाउँदै अभियानकर्मी गिरी कालीगण्डकी संरक्षणमा जोडिएर सर्जकहरुले अर्को महत्वपूर्ण अभिभारा निर्वाह गरेको टिप्पणी गर्नुहुन्छ । देशभरका प्रतिनिधि स्रष्टाका नदी पक्षधर कवितालाई पछि ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गर्ने अभियानको योजना छ ।कालीगण्डकी संरक्षणमाथि कोरिएका कविता र गीत बौद्धिक सम्पत्तिका रुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानका सदस्य सज्जनकुमार सिंह बताउनुहुन्छ । उहाँका अनुसार यसै सिलसिलामा जोडिएर अभियानले ‘ए कालीगण्डकी…’ बोलको गीत पनि छिट्टै सार्वजनिक गर्दैछ ।

प्रसिद्ध कवि श्रवण मुकारुङको रचना र सङ्गीतमा तयार भएको उक्त गीतमा लोकप्रिय गायक कर्ण दासले स्वर दिनुभएको छ । “तत्काललाई गीतको लिरिकल भिडियो सार्वजनिक गर्ने तयारीमा छौँ, पछि स्तरीय भिडियो नै बन्छ”, उहाँ भन्नुहुन्छ । यहाँका नदी र पर्यावरणप्रेमी स्वयंसेवी युवाहरु निस्वार्थ ढङ्गले अभियानमा हेलिएका छन् । बालुवा र गिट्टी उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको दोहनको चक्र सबै मिलेर तोड्नुपर्नेमा उनीहरुको एकस्वर छ ।

यथाशक्य चाँडो नदीलाई प्राकृतिक स्वरूपमै नफर्काउने हो भने कालीगण्डकीको अस्तित्व नै नामेट हुने अभियानकर्मीहरूका तर्क छ । स्वभाविक प्रणालीमै धक्का पुग्ने गरी मनपरी किसिमबाट भइरहेको दोहनले मानवजाति र प्रकृतिमाथि सङ्कट निम्तने खतरा छ ।

गिट्टी र बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने अभियानकर्मी गिरीको सुझाव छ । धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि कालीगण्डकी जोडिएको छ । ठूला उपकरणको सहायतामा भइरहेको उत्खननले नदीलाई प्राकृतिक स्वरुपमा बग्न बाधा गराएकोे छ ।

राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै मनपरी ढङ्गले नदी दोहन भइरहेको हो । दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने दुर्लभ शालिग्राम लोपोन्मुख स्थितिमा पुगेको छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटोन्मुख छन् । – रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV