९ पुष २०७८, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्राथमिकताका आधारमा बिकासका आयोजना अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा एकीकृत प्रगतिशील इन्जिनियर समूहले नेपाल इन्जिनियर्स एशोसियसनको परिषद् सदस्य निर्वाचनमा उम्मेद्वारी घोषणा कार्यक्रममा भट्टराईले मुलुकको बिकासको आधारलाई अघि बढाउनका लागि प्राथमिकताका आधारमा बिकासका आयोजना अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले यसअघि केपी ओलीले नेतृत्वको सरकारले जनताको प्राथमिकतामा नपर्ने आयोजनालाई अघि बढाउन खोजेको आरोप लगाए । अहिले पानीजहाजभन्दा मुलुकको सबै स्थानमा गुणस्तरिय सडक बनाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सवै नेपाली नागरिकलाई समान व्यबहार हुनुपर्ने धारणा राखे । देशमा आमाबुवा जन्मसिद्ध नागरिकता लिएका भएपनि उनीहरुको सन्तानले राज्यको विभेदकारी नीतिकै कारण नागरिकता पाउन नसकेको बताए ।

त्यस्तै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मुलुकको बिकासको मेरुदण्ड बन्न इन्जिनियरहरुलाई सुझाव दिए । इन्जिनियरहरुको गठबन्धनलाई हार्ने छुट नभएको भन्दै जिताउनका लागि जुनसुकै सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीनिकट इन्जिनियरको प्यानल घोषणा गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV