९ पुष २०७८, शुक्रबार
  • तारा आचार्य

विराटनगर । अन्य प्रदेशहरुमा मल नपाएको गुनासो आईरहेको बेला प्रदेश १ मा पर्याप्त मात्रामा डिएपी मल नभए पनि अभाव नै नभएको कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ ।

विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा गएको मंसिरयता करिब ४ हजार ६ सय मेट्रिक टन डिएपी मल आएकोमा विभिन्न जिल्लामा २ हजार ८ सय २८ मेट्रिक टन डिएपी मल पठाइएको सो कार्यालयले जनाएको छ ।

गहुँ सिजनका लागि पर्याप्त मात्रामा डिएपी मल विक्री गरिएको भए पनि हाइब्रिड मकै खेतीका लागि कृषकहरुले डिएपी मल सञ्चित गर्दा अभाव जस्तो देखिएको लिमिटेडका प्रादेशिक प्रबन्धक नवरत्न गौतमले जानकारी दिनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा करिब ३ सय ८५ मेट्रिक टन डिएपी मौज्दात रहेको छ भने विभिन्न जिल्लामा पनि डिएपी मल मौज्दात रहेको जानकारी पाएको प्रादेशिक प्रबन्धक गौतमले बताउनु भयो ।

मल अभाव हुने हल्लाका कारण कृषकहरुले मौज्दात राख्न थालेपछि डिएपी मलको अभाव देखिएको बताइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले प्रदेश १ को १४ जिल्ला र प्रदेश २ को सिरहा र सप्तरीमा मल वितरण गर्ने गरेको छ । प्रादेशिक गोदाममा करिब ६ हजार ३ सय मेट्रिक टन युरिया मल आएकोमा १ हजार ६ सय मेट्रिक टन युरिया मौज्दात रहेको छ ।

सरकारले अनुदान दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले युरिया मल प्रति बोरा ७ सय ५० रुपैया, डिएपी प्रतिबोरा २ हजार २ सय रुपैयाँ र पोटास प्रतिबोरा १ हजार ६ सयमा बिक्री गर्दै आएको छ ।

कृषि सामग्री कम्पनीले मल अभाव नभएको बताइरहँदा कृषकहरुले भने खेतवारीमा चाहिनेजति मल नपाएको गुनासो गरेका छन् । एक बाेरा चाहिने ठाँउमा २० किलो मात्र पाएको र डिएपी युरियामा एससबी र अन्य मल मिलाएर छर्ने गरेको उनीहरुले बताए । मल नपाएपछि बाली उत्पादनमा समेत असर पर्ने किसानहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV