८ पुष २०७८, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले अन्तरिक्षमा आफ्नो स्याटलाइट पठाउन सक्षम भएको बताएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक विकासको अग्रपंक्तिमा पुगेको दाबी गरेका हुन् ।

उनले भने, ‘पहिला हामीसँग अन्तरिक्ष थिएन । सूचना पठाउन सक्दैन्थ्यो । तर, अहिले हामी अन्तरिक्षमा स्याटलाइट पठाउन सक्षम भएका छौं ।’ उनले थप भने, ‘देशमा अहिले विकासको लहर नै चलेको छ ।’

सूचना प्रविधिको सवालमा पनि मुलुक अग्रपंक्तिमा अघि बढेको बताउदै अध्यक्ष ओलीले कोरोना महामारीको बखत अनलाइन कक्षा सञ्चालन हुनु, जूम मिटिङ्ग गर्नुलगायतले प्रविधिमा मुलुक अगाडि बढिसकेको बताए ।

उनले थपे, ‘भारतबाट मालसामान आयात गर्न पहिला एउटा बन्दरगाह थियो । अहिले चार वटा बन्दरगाह भएको छ । समुन्द्रसम्म हाम्रो पहुँच भइसकेको छ । विकासको सन्दर्भमा मुलुक अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढिरहेको अवस्थामा दुर्भाग्य बस यो सरकारलाई ढालेर पहिलाको गठबन्धनको निकम्मा सरकारलाई ल्याई मुलुकलाई अँध्यारोमा पार्ने काम भएको छ ।’

वर्तमान सरकारको कारण मुलुकको निर्यात घटेको र आयात बढेको अध्यक्ष ओलीको आरोप छ । आयात बढ्नु देशकै लागि नराम्रो पक्ष रहेको भन्दै अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकारको मुख्य काम देशको विकास, मुलुकमा उत्पादित सामानको निर्यातमा वृद्धि तथा मुद्राको समस्यालाई अन्त्य गर्नु नै रहेको बताए ।

एमालेको सरकारले सडक बालबालिकाहरुको आश्रयको लागि बस्ने, खाने र पढ्ने प्रबन्ध मिलाएको उनको दाबी छ । त्यस्तै उनले आफ्नो पार्टीको सरकारले जेष्ठ नागरिकको सम्मानको साथ–साथै सामाजिक सुरक्षा भत्ता, सबै नागरिकको बैंक खाता, कृषिको आधुनीकिकरण, उद्योग स्थापनालगायत विभिन्न ढंगले अगाडि बढाएको बताए ।

उनले सडकको विस्तार, हुलाकी राजमार्ग, पूर्वाधार विकास, विजुली विकास, खानेपानी, शिक्षा, स्वास्थ्यको विकासको योजनालाई एमालेको सरकारले नै अगाडि बढाएको दाबी गरे ।

एमाले साढे ३ वर्ष सरकारमा बस्दा विभिन्न किसिमका विकासहरु भएको स्मरण गराउँदै बारा, पर्सामा हावाहुरीले भत्केका ८ सय ७९ घरहरुलाई पुनः निर्माण गरि हस्तान्तरण गरेको बताए ।

त्यस्तै भूकम्पको बेला भत्केको घरहरुलाई पुनः निर्माण गरेर जनतालाई हस्तान्तरण गर्नुको साथै जनता आवास कार्यक्रम मार्फत गरीब, निमुखा परिवारहरुलाई बासको व्यवस्थापन गर्दै अगाडि बढेको पनि उनको दाबी छ ।

जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिँयाको सभापतित्वमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका २ हजार भन्दा बढी कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV