८ पुष २०७८, बिहीबार

चितवन । वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसवर्ष साउनयता १० अर्ना मरेका छन् । तत्कालीन समयमा कोशीटप्पुबाट १२ र चियाखानाबाट तीन अर्ना ल्याइएको थियो ।

तीमध्ये ६ अर्ना बाढी र बाघका कारण मरेका थिए । विसं २०७४ का बाढीमा पाँच अर्ना मरेको थियो, भने एउटा बाघले खाएको थियो । त्यसयता चार पाडापाडी जन्मिएका थिए । उनका अनुसार यसवर्ष ६ भाले र ४ पोथी मरेका हुन् । खोरमा तीन वटा पोथी मात्र बाँकी छन् ।

विसं २०७५ को साउन ३१ गते पहिलो बच्चा जन्मिएको थियो । समूह बनाएर सत्रुसँग लड्नसक्ने भएपछि खुल्ला ठाउँमा छोड्ने उद्देश्यका साथ अर्ना ल्याइएका हुन । प्रमुख संरक्षण अधिकृत आचार्यले ५०सम्म अर्ना हुनसकेमा उनीहरुले खुल्लाठाउँमा सत्रुसँग लडेर जोगिन सक्छन् ।

निकुञ्जमा रहेको सङ्ख्या कम हुँदा छोड्नसक्ने अवस्था नरहेका कारण समस्या भएको हो । उनको भनाइमा कोशीमा बगेको पानी खाएका अर्ना यहाँ खोरभित्रको तलाउ र घाँसे मैदानमा लामो समय बस्न कठिन भएको देखिन्छ ।

उनले भने, “उपयुक्त बासस्थान र खानाकै कारण समस्या भए जस्तो देखिन्छ ।” ठूलो सङ्ख्या भएर छिटो छोड्न सकेमा सफलता मिल्ने उनको अनुमान रहेको छ ।

सन् १९६१ ताका यहाँ अर्ना रहेको बताइन्छ । त्यसयताको लामो समयमा वातावरणीय प्रभाव परिवर्तन भएका कारण पनि अर्ना टिक्न कठिन भएको हुनसक्ने बताइन्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ पछिल्लो पटक मरेको अर्नामा निमोनिया देखिएको बताउँछन् ।

बासस्थान रहेको क्षेत्रमा बाढीका कारण प्रभाव परेको र बिरामी परेर अर्ना मरेको उनको भनाइ छ । मरेका अर्नाको एकीन कारण पहिचानका लागि नमूना राखिएको छ । पूर्ण परीक्षणपछि थप कारण पत्ता लाग्ने निकुञ्जले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल यसैवर्ष अर्ना स्थानान्तरण गर्ने विषयमा प्रस्ताबको तयारी गरेको बताउँछन् । उनको भनाइमा पाँच महिना मात्र राखेर बथान वनाएर छोड्न मिल्ने गरी अर्ना ल्याउनुपर्दछ ।

त्यसरी ल्याइएका अर्नालाई रेखदेखका लागि थप जनशक्ति परिचालन गरी पोसिलो खानाको व्यवस्था गरिने कँडेलले बताए । उनले भने, “छिट्टै अर्ना स्थानान्तरण गरेर वर्षात्सम्ममा खुल्ला ठाउँमा छाड्नसक्ने गरी कामका लागि प्रस्ताव गर्दैछौं ।”

छोटो समय विशेष निगरानीमा राखेमा उपयुक्त हुने उनको भनाइ छ । एक ठाउँमा मात्र अर्ना भएकाले रोगव्याधि र समस्या देखिएमा मासिन सक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने विभागको योजना रहेको छ । कंडेलले वथान वनाएर छोड्दा उनीहरुले चाहेको जस्तो बासस्थान पाउने भएकाले यसबाट बंश विस्तार गर्न सहज हुने जानकारी दिए ।

तत्कालीन समयमा २५ वटा अर्ना ल्याउने भनिए पनि कम सङ्ख्या ल्याएकै कारण समस्या भएको हो । अब ल्याउदा दुई÷तीनवटा भाले ल्याउने र अन्य पोथी ल्याउने विभागको तयारी रहेको छ ।

अर्ना तीन÷चार वर्षको उमेरपछि प्रजननयोग्य हुने गर्दछ । अर्ना स्वच्छ पानी, दलदल र घाँसे मैदानमा रमाउने गर्दछ । अर्ना भैँसी प्रजातीको हुने हुनाले सोही अनुसारको ब्याउने चक्र हुनेगर्दछ । यसको सरदर आयु २५ वर्ष हुने विज्ञहरु बताउछन् । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV