६ पुष २०७८, मंगलवार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । नेपाल पत्रकार महासंघका केन्द्रीय नेताहरुले महासंघको बेलायत शाखालाई संगठनको विधि, विधान र पद्धतिलाई आत्मसात् गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

आइतबार शाखाको बैठकलाई सम्बोधन गर्दै महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले विधानलाई नै सर्वोपरी मान्दै संगठन अघि बढाउन सुझाव दिएका छन् ।

अध्यक्ष पोखरेलले संगठनभित्र बेलाबेलामा कुनै असन्तुष्टिहरु आउनु स्वभाविक रहेको भन्दै विधिपूर्वक समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे । ‘संगठनमा कुनै असन्तुष्टिहरु आउंदैमा ठूलो भय, त्रास लिनुपर्ने आवश्यकता छैन। तर असन्तुष्ट साथीहरुलाई पनि सम्बोधन गर्ने क्रममा संस्थाको विधि, विधान र परम्परालाई ध्यानमा राख्दै बुद्धिमतापूर्ण र उदार रुपमा अघि बढ्नुहोस् भन्ने मेरो आग्रह छ’, उनले भने ।

‘विधानभन्दा बाहिर नजानुस् । यसलाई मेरो निर्देशन वा आग्रह, जुनसुकै रुपमा लिनुहोस’, अध्यक्ष पोखरेलले स्पष्ट पार्दै भने, ‘संगठनमा सबैभन्दा मुटु नै विधान हो । सबैलाई समेटेर एउटै छातामा ल्याउनुस् तर विधानलाई टेकेर मात्रै अघि बढ्नुहोस् । संस्थाको विधि, विधान, स्वाभिमान र गौरवमा आँच आउन नदिनुहोस् ।’

एफएनजे यूकेको पाँचौं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै अध्यक्ष पोखरेलले भने, ‘तपाईंहरु प्रक्रियाबाटै आउनुभएका साथीहरुले केही दोधार लिनुपर्ने छैन । ढुक्क भएर काम गर्नुहोस्, तपाईंहरुलाई महासंघ केन्द्रको पूर्ण साथ रहन्छ। तर तपाईंहरु नेतृत्वमा हुनुका नाताले असन्तुष्ट साथीहरुलाई मिलाएर लैजाने कर्तव्य तपाईंहरुकै हुन्छ । संगठनको विधि, पद्धतिभित्रै रहेर असन्तुष्टिहरुको सम्बोधन गर्नुहोस् ।’

त्यसअवसरमा सम्बोधन गर्दै केन्द्रीय महासचिव रोशन पुरीले पनि संगठनको विधि, विधानलाई टेकेरै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । ‘संगठनमा आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्न वातावरण बनाउनुस्, महासंघको केन्द्रीय समिति पनि सहयोगी भूमिका खेल्न तयार छ’ उनले भने’, तर हरेक कुरा संस्थाको विधानसम्मत हुनुपर्छ । विधानबाहिर गएर कुनै कार्य गर्न सकिंदैन ।’

बेलायत शाखाले नेपाली पत्रकारहरुको हित र प्रवद्र्धनका लागि विगतदेखि नै निरन्तर सहयोग गर्दै आएकोमा महासचिव पुरीले प्रशंसा गरे । ‘तपाईंहरु निर्वाचित भएर आएपछि पनि राम्रा कामहरुको शुरुवात गरिसक्नुभएको छ । यस्तै, जोश र उर्जासहित काम गर्दै जानुहोस्, यो कार्यसमितिलाई केन्द्रीय समितिबाट पूर्ण साथ रहनेछ भनेर विश्वास दिलाउन चाहन्छु ।’

एफएनजे यूकेले नेपालस्थित पत्रकारहरुको सहयोगका लागि पठाएको आर्थिक सहयोगका लागि केन्द्रीय अध्यक्ष र महासचिव दुवैले शाखालाई धन्यवाद दिंदै आगामी केन्द्रीय कार्यसमिति बैठकलगत्तै औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिने जानकारी गराएका थिए ।

बैठकमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा र नरेश खपांगीले पनि मन्तव्य राख्दै शाखाको वर्तमान कार्यसमितिलाई आवश्यक कुनै पनि साथ, सहयोगको लागि प्रतिवद्धता गरे ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालले बैठकमा सहभागी भइ सम्बोधन गरिदिएकोमा केन्द्रीय अध्यक्ष र महासचिवप्रति आभार प्रकट गरे । केन्द्रीय समितिका तर्फबाट प्राप्त साथ र हौसलाले शाखालाई थप उत्साहित गरेको भन्दै उनले केन्द्रीय समितिसँग रहंदै आएको झन् नजिकको सहकार्य गर्दै जाने बताए ।

अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवहरु मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा कार्यसमिति सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ, मिलन तमु, बम थापा सुर्यवंशी र बाचस्पति रेग्मीसहित कार्यसमितिका अधिकांश पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV