५ पुष २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पार्टी र चुनाव चिन्हविहीन हुने भए पनि षड्यन्त्रपूर्वक बचाइएको बताएको छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रमलाई सम्बोधन गर्दै ५ पुष २०७७ मा प्रधानमन्त्री रहँदा प्रतिनिधिसभा विघटन गरेका ओलीले पार्टीमा अल्पमतमा रहे पछि कुटिल चाल चालेर बचेको अध्यक्ष प्रचण्डले बताए ।

प्रचण्डले भने, ‘पार्टीको समस्या पार्टीभित्रै हल होस् । संसदको समस्या संसदबाटै होस् छासमिस पार्ने काम नहोस् । संसद विघटन गरेपछि हामीले पार्टीबाटै निष्कासन गरेका थियौँ । निष्कासन गरेका सबै कागजातसहित निर्वाचन आयोगमा पेश गर्यौ । यदि निर्वाचन आयोगले संविधानअनुसार काम गरेको भए आज केपी ओली पार्टीविहीन, चुनाव चिन्हविहीन हुने थिए । तर, एउटा ठूलो षड्यन्त्रपूर्वक उनलाई बचाइएको हो ।’

तत्कालीन नेकपामा माधवकुमार नेपाल, झलनाथ खनाल र आफूसँग पार्टीको हिस्सा ७५ प्रतिशत रहेको र त्यहीँ देखेर ओलीले संसद विघटन गरेको पनि प्रचण्डले बताए । ‘७५ प्रतिशत हामीसँग थियो । पार्टी यहीँ रुपमा चल्ने हो भने, पार्टीविहीन, चुनाव चिन्हविहीन हुने देख्नुभयो । र, कुटिल दिमागले प्रतिनिधिसभा विघटन गरे अर्काे निर्वाचन जाने र आफू सुरक्षामा हुन आत्मसुरक्षा चाले,’ अध्यक्ष प्रचण्डले भने, ‘बाहिर मलाई पार्टीभित्र कामै गर्न दिइएन र संसद विघटन गरेको हो भनेर भन्नुभयो । पार्टीभित्रको समस्या समाधान गर्ने पार्टीको विधि र विधान हुन्छ । र, संसदीयभित्रका समस्या हल गर्ने आफ्नै विधि र पद्धति हुन्छ । तर, जनताको सार्वभौमसत्तालाई विघटन गर्नुजस्तो निर्लज्जा के हुन्छ । र, अब यस्तो कहिल्यै हुननपाओस् भन्ने सन्देश दिनुछ ।’

ओलीले निर्वाचनमा आयोगमा आफ्नै मान्छे लगेर बचेको पनि अध्यक्ष प्रचण्डको भनाइ छ । प्रचण्डले भने, ‘निर्वाचन आयोगमा आफूले जे भन्ने त्यहीँ मान्छे लगेकै कारण आश्चर्यजस्तो भयो । हुँदै नहुने कुरामा पहिले हार व्यहोरिसक्नुभएको थियो । सूर्य चिन्ह हाम्रो भइसकेको थियो, उहाँले पार्टी दर्ता गरेर चुनाव चिन्ह पनि लिइसक्नुभएको थियो । बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’

ओली प्रतिगमनकारी र प्रतिगमनकै बाटो निर्माण गर्न लागिपरेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाएका छन् । संविधान मिच्ने, लोकतन्त्र मिच्ने ओली सधै प्रतिगमनको बाटोमा हिँडेको प्रचण्डको आरोप छ ।

‘कहिल्यै केपी ओली प्रतिगमनकै बाटोमै छन् । आजभोलि सदनभित्र जे देखेर भोगिरहेका छौँ त्यो प्रतिगन हो । संविधान मिच्ने, लोकतन्त्र मिच्ने र प्रतिगमनको बाटो तयार गर्न लागिपरेका छन्,’ प्रचण्डले भने ।

माधव नेपालसहित एमालेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म संसद बैठक चल्न नदिएको सन्दर्भमा पनि प्रचण्डले भनाइ राखेका छन् । यस विषयमा माधव–झलनाथ जहाँ जान्छन् त्यहाँ ओली अनुपस्थित भएको प्रचण्डको भनाइ छ ।

‘अदालतको फैसला ह्विप लाग्दैन भन्नेछ अनि सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय १३ दिनभित्रै लिनुभएको छ । त्यहाँ कहीँकतै ऐनको उल्लंघन पनि छैन । संविधानको मर्म र भावना पनि उल्लंघन भएको छैन,’ प्रचण्डले भने, ‘संसदमा माधव नेपाल र झलनाथ खनाल उपस्थित भएपछि नआउने । तर, अस्ति कसो नेपाली कांग्रेसको महाधिवेशनमा आउनुहुन्न भन्ने थियो तर, आउनुभयो त्यहाँचाहीँ । नत्र माधवजी कहीँ जानुपर्ने भो भने त्यहाँचाहीँ उहाँ नजाने । योभन्दा अराजनीतिक, अलोकतान्त्रिक के हुन्छ ?’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV