५ पुष २०७८, सोमबार
  • प्रकाश विकल्प

हामीले काल तीन प्रकारका हुन्छन् भनेर पढियो, तर विज्ञान प्रविधिको विकाससँगै अर्को एउटा काल पनि थपिदिएको छ, त्यो हो ‘तत्काल’ । जस्तो कि नेपाली सन्दर्भमा दश-पन्द्ध वर्ष अगाडिलाई मात्र हेर्यौं भने पनि हामीलाई याद नै छ, परदेशमा रहेका आफन्त/साथीभाइसँग सम्पर्क समन्वयको माध्यम हुलाक वा ल्यान्डल्याइन टेलिफोन थियो । घण्टौं हिँडेर र घण्टौं लाईन बसेर बल्लतल्ल टेलिफोनमा पालो आउँथ्यो । त्यो पनि महंगो पैसा तिरेर । हुलाकको माध्यमबाट चिठीपत्र आदान–प्रदान गर्दा त पुग्छ कि पुग्दैन भन्ने नै आनिश्चत हुन्थ्यो । रजिष्टर गरेर पठाएको पत्रचाहिँ लगभग सम्बन्धित व्यक्तिको हातमा पुग्ने विश्वास गरिन्थ्यो । तर, धेरै भएको छैन- इन्टरनेट र सूचनाप्रविधिको विकास र प्रयोगले दशौं हजार किलोमिटर टाढाको देशमा रहेका आफन्त-साथीभइसँग पनि सेकेन्डभरमा कुरा हुनसक्दछ । त्यो पनि करिब सित्तैमा, अझ भिडियो कल नै !

डिग्री गरेको मानिसलाई विद्वान भनिन्थ्यो तर आज समय यहाँ आइपुगेको छ, विद्यावारिधि नै गरेको किन नहोस् यदि प्रविधिको प्रयोग गर्न सक्दैन भने उ अशिक्षित बराबर हुने भयो !

यो प्रसंग मैले यहाँ किन स्मरण गराइरहेको छु भने विज्ञान–प्रविधिको विकासले मानव जीवनलाई यति सहज बनाइसेको छ, जुन हामी नेपालीको मानसिकताबाट हेर्दा सपनाजस्तो लाग्छ । तर, यो सपना हैन विल्कुल सत्य हो । समय यस्तो आइसकेको छ, इटरनेट र सूचना प्रविधिबाट आफूलाई अलग राखेर सामान्य मानिसले पनि जीवनको कल्पना गर्न सक्दैन । अर्थात्, प्रविधि र मानिस एकअर्काको परिपुरक भइसकेको छ । हिजोका दिनमा मास्टर–डिग्री गरेको मानिसलाई विद्वान भनिन्थ्यो तर आज समय यहाँ आइपुगेको छ, विद्यावारिधि नै गरेको किन नहोस् यदि प्रविधिको प्रयोग गर्न सक्दैन भने उ अशिक्षित बराबर हुने भयो !

विज्ञान र प्रविधिको विकासले हामीलाई यसरी छोपिसकेको छ, मानौँ भिर छिचोलेर बनाइएको मोटर बाटोमा गुडिरहेको गाडीलाई पूरै भीर खसेर छोपेजस्तो । यद्यपि, विज्ञान र प्रविधिको हरपल प्रयोग गरिरहे तापनि हाम्रो मानसिकता, सोच-व्यवाहार र कार्यसम्पादनमा भने यसको प्रभाव देखिँदैन । हाम्रो मानसिकता अझै पनि हुलाकी युगकै अवस्थामा छ । अर्थात्, अनिश्चितता र ढिलासुस्ती । भर्खरै गर्न सकिने निर्णय र काम पछि सार्ने । आज गर्न सकिने निर्णय र काम भोलि, भोलि गर्न सकिने पर्सि । एवं रीतले हामी पछि पर्दै गएका छाैँ । यसलाई अंग्रेजीमा ‘प्रोकास्टिनेशन’ भनिन्छ, अर्थात् भोलिवाद । भोलिवाद अर्थात् अवैज्ञानिक मानसिकताबाट हामी यसरी प्रभावित छौं, जसको परिणाम देश मात्र हैन, स्वयम् व्यक्ति पनि असफल भइरहेका छौं ।

हामी आफ्नो असफलतालाई पूर्वजन्मको पाप, भाग्यको खेल, पुर्पुराेमा नभएपछि कसैको केही लाग्दैन इत्यादि भ्रमपूर्ण चेतनाको सहारा लिएर थुम्थुम्याइरहेका हुन्छौं । के मानिस असफल वा गरिब हुनु वा देश विकास नहुनु पूर्वजन्मको पाप, भाग्यको खेल वा नेपालीलाई धनी हुन पुर्पुरोमा नलेखेर हो ? हैन, सरासर गलत ! सत्य के हो भने व्यक्ति होस् वा देश, हामी भोलिवाद अर्थात् अवैज्ञानिक चेतनाको सिकार भएका हौं । यो तथ्यलाई अझ प्रष्टसँग बुझ्न मुलुकको कर्मचारीतन्त्र र प्रणालीलाई हेरे पुग्छ ।

भोलिवाद सबैभन्दा बढी कहीँ छ भने कर्मचारीतन्त्रमै छ । यद्यपि, यो प्रजातिले सुन्नेवाला छैन । किनकि प्राकृतिक प्रकोपमा परेर तलमाथि हुनेबाहेक कानुनले उसका सबै नियतको संरक्षण गर्दछ । काम नगरेबापत उसको तलब-भत्ता काटिँदैन, न त जागिर नै जान्छ ! योभन्दा विचित्र अरु के होला ?

नेपालको कर्मचारीतन्त्र र प्रणाली प्रकृयामुखी छ । परिणामसँग यसले खासै सरोकार राख्दैन, राख्छ त केवल प्रकृयाको परीक्षण गर्ने महालेखा परीक्षक र अख्तियारसँग । तदारुकता, हुटहुटी, राष्ट्रिय स्वार्थ, गरिब र भोकानाङ्गाको दर्दले यो प्रजातिलाई छुँदैन । यसले असम्भवभित्र सम्भव खोज्दैन, सम्भवभित्र असम्भव खोज्छ । क्रमभगंतालाई यसले प्रलय ठान्छ । नयाँ र सिर्जनशीलताप्रति ओठ लेप्य्राउँछ र भाग्छ । तत्काल गर्न सकिने कामलाई सकेसम्म दुइचार हप्ता पछिका लागि सार्छ, त्यो नसके दुइचार दिन त अवश्य पर धकेल्छ । भोलिवाद सबैभन्दा बढी कहीँ छ भने कर्मचारीतन्त्रमै छ । यद्यपि, यो प्रजातिले सुन्नेवाला छैन । किनकि प्राकृतिक प्रकोपमा परेर तलमाथि हुनेबाहेक कानुनले उसका सबै नियतको संरक्षण गर्दछ । काम नगरेबापत उसको तलब-भत्ता काटिँदैन, न त जागिर नै जान्छ ! योभन्दा विचित्र अरु के होला ?

२०७८ मंसिर १८ गते लुम्विनी प्रदेश सरकारको आयोजनामा प्रदेशका मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर सरकार सञ्चालन र स्मार्ट नेतृत्वका विषयमा प्रशिक्षण दिन लुम्बिनी प्रदेश सरकारले म र पूर्व मुख्यसचिव लिलामणी पौडेललाई आमन्त्रण गरेको थियो । हामी त्यहाँ गयौं । पहिलो सेशनमा लिलामणि पौडेलले सरकार सञ्चालनका सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो भने मैले स्मार्ट नेतृत्व र सरकारका बारेमा करिब १ घण्टा ३० मिनेट बोलेको थिएँ ।

यो सन्दर्भ मैले यहाँ किन उल्लेख गर्न चाहेँ भने त्यहाँ बोल्ने क्रममा मैले भनेको थिएँ– ‘हाजिर गर्न कार्यालय आउने र तलबका लागि जागिर खाने कर्मचारी अनि चुनाव केन्द्रित राजनीति गर्ने नेतालाई देशद्रोहको मुद्दा किन नलगाउने ? मैले यसो भनुको अर्थ हो- यहाँ देशका लागि काम नै गरिँदैन । मेरो यो भनाइलाई प्रष्ट पार्न मैले उक्त कार्यक्रममा चीनको द्रूत विकासको उदाहरण पेश गरेको थिएँ । चीनको विकासको राज चिनिया राष्ट्रपति सि जिङ पिङदेखि एउटा परियोजनाको सामान्य मजदूरसम्म साझा राष्ट्रिय लक्ष्यमा समर्पित हुनुमा छ । त्यहाँ राजनीति गरिन्छ देशका लागि । कर्मचारी कार्यालय जान्छन् देशको सेवा गर्न । र, तलब खान्छन् राष्ट्र निर्माणमा योगदान गरेबापत !

चीनको विकासको राज चिनिया राष्ट्रपति सि जिङ पिङदेखि एउटा परियोजनाको सामान्य मजदूरसम्म साझा राष्ट्रिय लक्ष्यमा समर्पित हुनुमा छ । त्यहाँ राजनीति गरिन्छ देशका लागि । कर्मचारी कार्यालय जान्छन् देशको सेवा गर्न । र, तलब खान्छन् राष्ट्र निर्माणमा योगदान गरेबापत !

रुढिवादी अर्थात् चरित्रमै ढिलासुस्ती भएको कर्मचारीतन्त्र र फगत चुनावकेन्द्रित राजनीतिबाट प्रेरित नेताको दिमागमा अब रिप्रोग्रामिङ गर्न आपरिहर्य छ । दुनियाँ यति गतिशील भैसकेको छ, जेनेरेशन टेन कम्प्युटर वा फाइभजी इन्टरनेटमा सीमित छैन । क्वान्टम कम्प्युटर र स्टारलिङजस्ता स्टेलाइट निर्माणमा अग्रसर छ । तर, हाम्रो दिमाग भने हुलाककै चेतनामा छ । योभन्दा लजास्पद र अमिल्दो अरु के हुन्छ ?

त्यसकारण, ढिलासुस्तिको प्रोग्रमिङलाई अनइस्टल गरेर ‘तत्काल’ हाल्ने, असम्भवको प्रोग्रामिङलाई डिलिट गरेर ‘सम्भव’को प्रोग्रामिङ हाल्ने । रुढिवादलाई अनइस्टल गरेर वैज्ञानिक प्रोग्रामिङ र चुनाव केन्द्रित राजनीतिलाई हटाएर देशकेन्द्रित राजनीतिको प्रोग्रामिङ गर्ने । सक्दिनँको ठाउँमा सक्छुलाई प्रोग्रामिङ गर्नु पर्दछ ।

मैले यो कुरा पनि लुम्बिनीको प्रशिक्षणमा भनेको थिएँ– ‘नयाँ जीवन होस् वा नयाँ नेपाल बनाउने कुरा, त्यसको सुरुवात हुन्छ- दिमागबाट ।’ पहिले दिमागलाई नयाँ बनाएपछि नयाँ परिणाम कसैले रोक्न सक्दैन । नयाँ हुनु भनेको फेरि पनि विज्ञानलाई पक्रिने कुरा नै हो ।

विज्ञानलाई पक्रिनु भनेको आवश्यकता र गतिलाई पक्रिने भनेको हो । विज्ञानलाई पक्रिने भनेको क्रमभंग गर्ने भनेको हो । विज्ञानलाई पक्रिनु भनेको रिजल्टको पछि लाग्नु हो । विज्ञानलाई पक्रिनु भनेको तत्काल गरिहाल्नु भनेको हो । विज्ञानलाई पक्रिने भनेको बराबरी र समानतालाई पक्रिने हो । अर्थात्, दिमाग र फाइल फन्फन्ती नघुमाउने भनेको हो ! देशको चित्र बदलेर गरिबबाट समृद्ध देश बनाउने भनेको हो । असफल मानिसबाट सफल मानिस बन्ने भनेको हो । अतः अब हामीले यो सत्यलाई बुझन् पटक्कै ढिलो गर्नुहुँदैन ।  व्यक्ति होस् वा देश, समृद्धिको एक महत्वपूर्णमध्येको सूत्र हो- भर्खरवाद ! भर्खरवादको अर्थ हो- हाताहाती परिणाम !

जसरी खण्डीकरण गर्दा ठिक सूत्र लगाएपछि मात्र सही उत्तर आउँछ, त्यसैगरी मानवजातिको अग्रगति र मुलुकको समृद्धिको सूत्र हो- भर्खरवाद । यो सूत्रको विनाहिच्किचाहट प्रयोग गरिनुपर्दछ । निहीत मतलब सिद्ध गर्न नागरिक र देशमाथि हुँदै आएको अन्याय बन्द गरिनुपर्दछ । नेताले कर्मचारीलाई दोष लगाएर, कर्मचारीले नीति र प्रणालीलाई अगाडि सारेर उम्किने प्रवृत्ति सदाका लागि अन्त्य गर्नु अपरिहार्य छ । राजनीतिक अगुवा र कर्मचारीतन्त्रले आफूलाई बिर्सिएर राष्ट्रिय हितमा समर्पित हुनु अनिवार्य छ, जसरी चिनियाँहरु साझा राष्ट्रिय स्वार्थमा केन्द्रित छन् ।

सामाजिक न्यायसहित राष्ट्र निर्माणको चौतर्फी माहोल निर्माण गर्न विज्ञानलाई केन्द्रमा राखेर मानसिक पुनर्संरचना, नीतिगत परिमार्जन र प्रणालीगत गतिशीलता सुनिश्चित गरिनु पर्दछ । वर्तमान राजनीतिले यो ऐतिहासिक कार्यभार पूरा गर्न चुक्नु हुँदैन । राजनीति पटकपटक चुक्दा र गन्तव्यविहीन हुँदा मुलुक परिणामविहीनताबाट गुज्रिरहेको छ । त्यसकारण, राष्ट्रिय अठोट आजको आवश्यकता हो । तर, त्यसको केन्द्रमा विज्ञान हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV